२०८३ बैशाख ३ गते , विहीबार

विदेशमा बसेर युद्धसम्बन्धी भ्रामक भिडियो बनाउने ११ नेपाली पक्राउ

sajilo news
पत्रपत्रिका
२०८२ चैत्र २८ गते , शनिबार
विदेशमा बसेर युद्धसम्बन्धी भ्रामक भिडियो बनाउने ११ नेपाली पक्राउ

गत फागुन १४ गते कतारमा एउटा क्षेप्यास्त्र खसेको भिडियोले सामाजिक सञ्जालमा हलचल मच्चायो। भारतीयमूलका एक नागरिकले खिचेको उक्त भिडियो संसारभर डढेलोसरि फैलियो। अधिकांश नेपालीले सोही भिडियो ‘कट’ गर्दै सामाजिक सञ्जालमा पोस्ट गरे। भिडियो पोस्ट भएको केही घण्टा पनि नबित्दै उक्त सामग्री सार्वजनिक गर्ने व्यक्तिलाई कतार सरकारले नियन्त्रणमा लियो।

त्यो एउटा सुरुवाती नजिर थियो। त्यसलगत्तै संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित बुर्ज खलिफा आसपास खसेको मिसाइलको भिडियो एक नेपालीले सामाजिक सञ्जालमा पोस्ट गरे। उक्त भिडियोले पनि जनमानसमा ठूलो त्रास पैदा गरिदियो। भिडियो खिचेर पोस्ट गर्ने ती नेपालीलाई दुबई प्रहरीले पक्राउ गर्‍यो । अबुधाबीस्थित नेपाली दूतावासका अधिकारीका अनुसार दुई दिनको सोधपुछ र प्रक्रियापछि उनलाई रिहा गरियो।

यी दुई घटनाको प्रभावले नेपालमा रहेक श्रमिकका परिवारसमेत त्रसित बने। दक्षिण–पश्चिम एसियामा रहेका नेपालीबाटै फेसबुक र टिकटकलगायत प्लेटफर्ममा मिसाइल खस्दै गरेका र मानिस आत्तिएका भिडियोहरू जताततै फैलिन थाले। त्यसपछि यूएईस्थित नेपाली दूतावासले विकसित भइरहेको परिस्थितिका सन्दर्भमा त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई सामाजिक सञ्जालमार्फत अपुष्ट र भ्रामक सामग्री नफैलाउन आग्रह गर्‍यो ।

दूतावासले ‘एड्भाइजरी’ जारी गर्दै अज्ञात स्रोतबाट आएका सूचना, हल्ला वा आधिकारिक रूपमा पुष्टि नभएका सामग्री प्रकाशन तथा प्रसारण नगर्न अनुरोध गरेको थियो। पछिल्लो समय सामाजिक सञ्जाल वा अन्य प्राविधिक माध्यममार्फत अपुष्ट सामग्री सेयर गर्दा सुरक्षा अवस्थाबारे अन्योल र भ्रम सिर्जना हुन सक्ने भएकाले यस्तो कार्य नगर्न सबैलाई सचेत गराइएको छ। परिस्थितिसँग सम्बन्धित फोटो तथा भिडियो खिचेर पोस्ट गर्दा जिम्मेवार बन्न दूतावासले पटक–पटक अपिल गरेको छ। यूएईका सम्बन्धित निकायले यस्ता गतिविधि कानुनअनुसार दण्डनीय हुने चेतावनी जारी गरिरहेका छन्। दुबई प्रहरीले सुरुवाती चरणमा सम्झाउँदै भिडियो नखिच्न र पोस्ट नगर्न सूचना तथा प्रत्यक्ष भेटघाटमार्फत जानकारी दिएको थियो।

त्यहाँ रहेका नेपालीलाई स्थानीय कानुनको पूर्ण पालना गर्न र अफवाह फैलाउने कार्यबाट टाढा रहन दूतावासले सजग गराउँदै आएको छ। दूतावासले विकसित परिस्थितिबारे सही र आधिकारिक जानकारीका लागि यूएई सरकारका आधिकारिक निकायका वेबसाइट तथा सूचनाहरू हेर्न अनुरोध गरेको छ।

यूएईका सरकारी निकायबाट जारी हुने सूचनालाई मात्र आधार मान्न आग्रह गर्दागर्दै पनि सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको भन्दै पश्चिम एसियाका विभिन्न मुलुकमा हालसम्म ११ जना नेपाली पक्राउ परेका छन्। पक्राउ पर्नेमा यूएईमा ३ जना, साउदी अरेबियामा ४ जना, कतारमा ३ जना र ओमानमा १ जना रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। अन्नपूर्ण पोष्टमा खबर छ ।

सम्बन्धित समाचार