२०८३ बैशाख ३ गते , विहीबार

हल्दीबारीले उचाल्यो सन्थाल गोल्डकपको उपाधि

sajilo news
झापा
२०८२ चैत्र २८ गते , शनिबार
हल्दीबारीले उचाल्यो सन्थाल गोल्डकपको उपाधि

झापाको हल्दीबारी एफसी प्रथम सन्थाल गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनल खेलमा आयोजक सन्थाल जाति उत्थान सेवा समाजलाई पराजित गर्दै हल्दीबारीले उपाधि चुमेको हो ।

निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरमा गएको थियो । ट्राइब्रेकरमा पनि बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट गरिएको थियो । खेलको ५५ औं मिनेटमा हल्दीबारी एफसीको तर्फबाट शिखर मर्डीले गोल गर्दै खेललाई १–० को स्थितिमा पुराएका थिए । १ गोलको योगदान गरेका शिखर मर्डी नै म्यान अफ दि म्याच घोषित भए । निर्धारित समय सकिएपछि थपिएको अतिरिक्त समयको सदुपयोग गर्दै आयोजकका तर्फबाट श्याम मुर्मूले गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए ।

ट्राइब्रेकरमा दुवै टिमबाट १–१ गोल रोकिएपछि ४–४ को बराबरी भएको थियो । सडनडेथमा हल्दीबारी एफसीका तर्फबाट १ गोल रक्षा भएपछि हल्दीबारीले गरेको १ गोल नै निर्णायक बनेको थियो । उपाधि विजेता हल्दीबारीले नगद १ लाख रुपैयाँ, ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्दा आयोजकले भने उपविजेता बन्दै नगद ६० हजारमा चित्त बुझाएको छ ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता आयोजकका तर्फबाट श्याम मुर्मू घोषित भए, त्यस्तै उत्कृष्ट गोल किपर हल्दीबारी एफसीका दिनेश बेस्रा घोषित भए । त्यसैगरी, खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेका आयोजक टिमका मिसन हस्दा उत्कृष्ट खेलाडी घोषित भए ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सांसद एवम् पूर्वमन्त्री एकराज कार्की, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौला, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले मामा लगायतले पुरस्कार वितरण गरेका थिए । गत चैत २१ गतेबाट सुरु भएको यस प्रतियोगिताको शनिवार समापन गरिएको आयोजक समितिका संयोजक टिका हस्दाले जानकारी दिए । 

सम्बन्धित समाचार