२०८३ बैशाख ३ गते , विहीबार

विराट गोल्डकपबाट बाहिरियो सशस्त्रको एपीएफ

sajilo news
मोरङ
२०८२ चैत्र ३० गते , सोमबार
विराट गोल्डकपबाट बाहिरियो सशस्त्रको एपीएफ

विराटनगरमा जारी ३८औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेडले प्रभावशाली र रणनीतिक खेल प्रस्तुत गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) क्लबमाथि १–० को कठिन जित निकाल्दै चर्च ब्वाइजले अन्तिम चारमा प्रवेश गरेको हो। सहिद रंगशालामा आइतबार सम्पन्न खेल सुरुदेखि नै प्रतिस्पर्धात्मक बनेको थियो। दुबै टोलीले आक्रामक रणनीति अपनाए पनि पहिलो गोल चर्च ब्वाइजको पक्षमा गयो।

खेलको २७औँ मिनेटमा आशिष सोनामको सटीक क्रसलाई समीर तामाङले उत्कृष्ट फिनिसिङ गर्दै जाली चुमाए। त्यही गोल नै खेलको निर्णायक क्षण बन्यो। सशस्त्र प्रतियोगिताबाट बाहिरियो। समीरको गोलपछि एपीएफ खेलमा फर्किन निरन्तर प्रयासरत रहयो। पहिलो हाफको अन्त्यतिर ४४औँ मिनेटमा मणिकुमार लामाले गरेको प्रहार बारमाथिबाट बाहिरिँदा टोली बराबरीबाट वञ्चित भयो। दोस्रो हाफमा एपीएफले झन् दबाब बढायो। ५०औँ मिनेटमा प्रदीप लामाको कडा प्रहारलाई चर्च ब्वाइजका गोलरक्षक दीप कार्कीले शानदार रूपमा रोके।

त्यसपछि ६३औँ मिनेटमा सविन गुरुङले पाएको स्पष्ट अवसर पनि सदुपयोग हुन सकेन। एपीएफले लगातार दबाब सिर्जना गरिरहँदा चर्च ब्वाइजले काउन्टर अट्याकमार्फत खेल नियन्त्रणमा राख्ने प्रयास गर्‍यो। ६९औँ मिनेटमा सुरज गौतमको शक्तिशाली प्रहार पोस्टमा लागेर फर्किँदा चर्च ब्वाइज थप गोलबाट चुक्यो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा समीरको सुरुआती गोल नै निर्णायक बन्यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका समीर तामाङ ‘प्लेयर अफ दी म्याच’ घोषित भए। उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे। चर्च ब्वाइजका डिफेन्स र गोलरक्षक दीप कार्कीको प्रदर्शन पनि जितका लागि महत्वपूर्ण रह्यो। 

२०७८ सालमा भारतीय टोली पन्जाब पुलिसलाई हराउँदै उपाधि जितेको एपीएफ यसपटक भने अपेक्षा विपरीत प्रदर्शन गर्दै पहिलो खेलबाटै बाहिरिएको छ। उपाधिको बलियो दाबेदार मानिएको टोलीले सिर्जना गरेका थुप्रै अवसरलाई गोलमा परिणत गर्न नसक्नु नै हारको मुख्य कारण बन्यो। प्रतियोगिताअन्तर्गत सोमबार अर्को विभागीय टोली नेपाल पुलिस क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। 

सम्बन्धित समाचार