२०८१ आश्विन २८ गते , सोमबार

बिर्तामोडबाट तीन जना बेसाहाराको उद्धार

sajilo news
झापा
२०८१ भाद्र २४ गते , सोमबार
बिर्तामोडबाट तीन जना बेसाहाराको उद्धार

बिर्तामोड । बिर्तामोडबाट तीन जना बेसाहारा नागरिकको उद्धार गरिएको छ । मानव सेवा आश्रमको सहयोगमा एक जना वृद्धासहित तीन जनाको उद्धार गरिएको हो । मानव सेवा आश्रमका प्रतिनिधि, नगर प्रहरीसहित नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाको टोलीले सोमबार दिउँसो उनीहरूको उद्धार गरेको हो । 

बिर्तामोड ४ बाट ९० वर्षीय छविलाल तिम्सिना, बिर्तामोड ३ बाट १८ वर्षीय उजित सीँ र बिर्तामोड ६ बाट २२ वर्षीय विनिशा गौतमलाई उद्धार गरिएको हो । वृद्ध तिम्सिनालाई विगत धेरै दिनदेखि बिरामी रहेको र कटेरोमा सुतेको अवस्थामा उद्धार गरिएको हो । उनको आफन्त यहाँ कोही नभएकोले स्थानीयले उनलाई खानपिन गराउँदै आएका थिए ।

यस्तै सीँ सैनिक मोडको एउटा निर्माणाधीन घरमा रात कटाउँदै आएका थिए । मानसिक अवस्था ठिक नभएका सीँले कहिले काँकडभिट्टाको गरामणि कहिले भारतको पानीटंकी घर बताउने गरेका छन् । 
यस्तै गौतमको पनि मानसिक अवस्था ठिक छैन । बुट्टावारि नजिकै शुभ बिहानी टोलबाट उद्धार गरिएकी उनले मोरङको गछिया आफ्नो ठेगाना बताएकी छन् ।

उद्धार गरिएका सबैलाई बिर्तामोड नगर प्रहरीको गाडीमा राखेर मानव सेवा आश्रम मेचीनगर पठाइएको नगर उप प्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलाले जानकारी दिए । उनले यस प्रकारका बेसाहारा  नागरिक बिर्तामोड क्षेत्रमा कोही भेटिए उद्धार गरिने पनि जानकारी दिए ।

मानव सेवा आश्रमका झापा संयोजक खगेन्द्र विश्वकर्माका अनुसार मेचीनगर आश्रममा मात्रै २८ जनाले आश्रय लिएका छन् । उनीहरू सबै जना झापाबाटै उद्धार गरिएका हुन् ।

सम्बन्धित समाचार