कचनकवलमा ग्यास सिलिन्डर विस्फोट, शिवसताक्षीमा जलेर एक घाइते, लाखौंको क्षति
झापाको कचनकवल र शिवसताक्षीमा आगलागी हुँदा ठूलो क्षति भएको छ । आज दिउँसो २ः१५ बजे कचनकवल– ६ बनियानीको हुकाहुकी चोकमा सत्यनारायण र हेमनारायण राजवंशीको घरमा भाडा लिई केशव राजवंशीले सञ्चालन गरिरहेको त्यारी राजवंशी होटेलमा अचानक ग्यास सिलिन्डर विस्फोट भएर आगलागी भएको हो । आगलागीबाट होटेलमा रहेका र्याक, टेबल, ग्यास चुलो, होटेलका सरसामान पूर्ण रूपले जलेर नष्ट भएको छ । उक्त होटेलमा अन्दाजी ४ लाख बराबरको क्षति भएको छ ।
त्यस्तै छिमेकी झरेन्द्रकुमार पौडेलले सञ्चालन गरेको निहारी होटेलमा सोही आगलागीबाट २ बोरा युरिया, फ्रिजलगायतका सरसामान जलेर नष्ट हुँदा अन्दाजी १ लाख बराबरको क्षति भएको छ । त्यस्तै जयसिंह राजवंशीको घरमा भाडामा रहेको सिम्रिक सहकारी संस्थाको मिटर र सिसिटिभी, अमर राजवंशीले सञ्चालन गरेको अमिला मेडिकल हलको सिसिटिभीसमेत जलेर नष्ट हुँदा जम्मा ५ लाख ३० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । उक्त आगलागी प्रहरी, स्थानीय र भद्रपुर नगरपालिकाको वारुण यन्त्रको सहयोगमा दिउँसो २ः३०.बजे पूर्ण रूपले नियन्त्रणमा आएको जनाइएको छ ।
त्यस्तै आज बिहान ११ः४५ बजे शिवसताक्षी २ स्थित ७ नं. चौकमा ७६ वर्षीय रुद्रमणि भन्ने कृष्णमणि घिमिरेको गोठमा आगलागी भएको छ । टिनको छानो, बाँसको टाटी बेरा भएको गोठमा बिजुलीको तार सर्ट भई हुन सक्ने आगलागीबाट उक्त गोठ, नजिकै रहेको १ बिगाहा परालको कुन्यू जलेर नष्ट भएको छ । आगलागीबाट १ लाख १० हजार बराबरको क्षति भएको जनाइएको छ ।
उक्त आगो निभाउने क्रममा घरधनी घिमिरे घाइते भएका छन् । आगोले उनको अनुहार र शरीरको विभिन्न भागमा पोलेको छ । घाइतेलाई उपचारको लागि दमक अस्पताल दमक लगिएको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उक्त आगो शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा दिउँसो .१२ः४५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।