मेची अस्पतालमा भेन्टिलेटर र अक्सिजन प्लान्ट निर्माणका ९ करोड बजेट विनियोजन
झापा । सरकारले भद्रपुरस्थित मेची अञ्चद अस्पतालका लागि ९ करोड बजेट विनियोजन गरेको छ । अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट, अक्सिजन ट्यांक निर्माण गर्नका लागि सरकारले सो बजेट विनियोजन गर्ने निर्णय गरेको हो । संघीय अर्थ मन्त्रालयले देशका २६ अस्पताल र ९ वटा प्रादेशिक अस्पतालका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँ बजेट निकासा गर्ने निर्णय गरेको हो । जसमा मेची अस्पताल पनि परेको हो । त्यस्तै विराटनगरको कोशी अस्पतालका लागि ६ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ । अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसँख्या मन्त्रालयलाई सो बजेटका लागि लिखित सहमति जनाउँदै पत्र पठाएको छ । मेची अस्पतालका लागि प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयमार्फत सो बजेट निकासा हुने भएको छ । अस्पतालको स्तरोन्नतिका लागि ९ करोड बजेट निकासा हुने भएपछि मेची अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलले धन्यवाद दिएका छन् ।