२०८३ बैशाख ७ गते , सोमबार

भद्रपुरका तीनसहित झापामा थप पाँच जना कोरोना संक्रमितको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ५ गते , बुधबार
भद्रपुरका तीनसहित झापामा थप पाँच जना कोरोना संक्रमितको मृत्यु

झापा । भद्रपुरका तीनसहित झापामा थप पाँच जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र चार पुरुष रहेका छन् । सदरमुकाम भद्रपुरमा एकै दिन तीन जना सङ्क्रमितको मृत्यु भएको नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए । कोरोनाबाट भद्रपुर नगरपालिका १ निवासी ८४ वर्षीय क्षेत्री थरका वृद्ध पुरुषको मृत्यु भएको छ । वैशाख ३१ गते कोरोना संक्रमण पुष्टि भएका वृद्धलाई उपचारको लागि मेची अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो । उपचाररत वृद्धको उपचार केन्द्रमै मृत्यु भएको हो ।

त्यस्तै भद्रपुर नगरपालिका २ बस्ने ३८ वर्षीय सिंह थरका संक्रमित पुरुषको मृत्यु भएको छ । जेठ १ गते कोरोना पुष्टि भएको उनको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको फोकल पर्सन भट्टराईले जानकारी दिए । भद्रपुर नगरपालिका ६ निवासी ५८ वर्षीय संक्रमित पुरुषको पनि मेची कोभिड उपचार केन्द्रमा बुधवार बिहान मृत्यु भएको छ । वैशाख २४ गते कोरोना पुष्टि भएका कर्ण थरका ती पुरुष केही दिन होम आइसोलेसनमा बसेका थिए । श्वासप्रश्वासमा समस्या आएपछि कोभिड उपचार केन्द्रमा भर्ना भएका थिए । उनीहरूको शव व्यवस्थापनको तयारी भइरहेको जनाइएको छ । भद्रपुरमा नयाँ भेरियन्टको सङ्क्रमणबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ । 
त्यसैगरी कोरोना सङ्क्रमणबाट दमकका पूर्व जनप्रतिनिधिको मृत्यु भएको । दमक नगरपालिका ५ का पूर्व वडाध्यक्ष मोती इङनामको कोरोना सङ्क्रमणबाट मृत्यु भएको वडाध्यक्ष इन्द्र गुरुङले जानकारी दिए । उनको नोबेल अस्पतालमा बुधवार बिहान २ बजे निधन भएको गुरुङले पुष्टि गरे । 
कोरोना सङ्क्रमणपछि उनी बिर्तामोडको बिर्ता सिटी अस्पतालमा झन्डै १५ दिनदेखि उपचाररत थिए । तर स्वास्थ्यमा असहजता देखिएपछि उनलाई नोबेल अस्पताल लगिएको गुरुङले जानकारी दिए । 
त्यस्तै अर्जुनधारा नगरपालिका ९ की एक महिलाको पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । सिवाकोटी थरकी ५५ वर्षीया महिलाको धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड हस्पिटलमा मङ्गलवार राती मृत्यु भएको हो । श्रीमान् र छोरा नभएकी र छोरीहरू धरानमा रहेकाले ती महिलाको धरानमै अन्त्येष्टि गरिने जनाइएको छ ।

सम्बन्धित समाचार