कचनकवलका दुईसहित झापामा थप चार जना सङ्क्रमितको मृत्यु
झापा । झापामा थप चार जना कोरोना संक्रतिमको मृत्यु भएको छ । कचनकवल गाउँपालिकाका दुई, हल्दिबारी गाउँपालिका र दमक नगरपालिकाका एक/ एक जना संक्रतिमको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । सङ्क्रमणबाट कचनकवल १ की ६० वर्षिया राजवंशी समुदायकी महिलाको आज दिउँसो मेची कोभिड उपचार केन्द्र भद्रपुरमा मृत्यु भएको छ । उनलाई हिजो संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।
त्यस्तै कचनकवल ४ का मुस्लिम समुदायका ४४ वर्षीय पुरुषको आज बिहान घरमै मृत्यु भएको छ । उनलाई हिजो बिएण्डसी हस्पिटलबाट घर ल्याइएको थियो । केही दिन मेची अस्पतालमा राखेर उनलाई बिएण्डसी हस्पिटल रेफर गरिएको थियो । आइसियुमा उपचाररत ती सङ्क्रमितलाई अझै केही दिन राख्न चिकित्सकले सुझाव दिए पनि परिवारले घर ल्याएको बताइएको छ । योसँगै कचनकवलका नयाँ भेरियन्टबाट मृत्यु हुनेको सङ्ख्या ३ पुगेको स्वास्थ्य शाखाका जागेश्वर यादवले बताए । त्यस्तै हल्दिबारी गाउँपालिकामा पहिलो पटक नयाँ भेरियन्टबाट कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
हल्दिबारी ४ का ७१ वर्षीय वृद्धको आज दिउँसो १।४५ बजे उपचारका क्रममा दमकको लाइफलाइन अस्पतालमा मृत्यु भएको हो । उनलाई हिजो गरिएको एन्टीजेन परीक्षणमा संक्रमण पुष्टि भए लगत्तै अस्पताल भर्ना गरिएको स्वास्थ्य शाखाका पुष्कर निरौलाले बताए । त्यस्तै दमक ३ का ६६ वर्षीय वृद्धको होम आइसोलेसनमा आज बिहान मृत्यु भएको छ । गत वैशाख ३१ गते कोटिहोम ल्याबमा परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको थियो । योसँगै दमकमा नयाँ भेरियन्टबाट ६ महिला र ६ पुरुष गरी १२ जनाको मृत्यु भएको छ ।