२०८३ बैशाख १३ गते , आईतबार

झापामा ‘एक व्यक्ति एक सिलिन्डर’अभियान : चीनबाट ल्याइयो १२० थान अक्सिजन सिलिन्डर

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ६ गते , विहीबार
झापामा ‘एक व्यक्ति एक सिलिन्डर’अभियान : चीनबाट ल्याइयो १२० थान अक्सिजन सिलिन्डर

झापा । दोस्रो लहरको कोरोना भाइरसको संक्रमणको महामारीपछि झापासहित अहिले देशभरका अस्पतालमा अक्सिजन सिलिन्डरको अभाव छ । अक्सिजन अभावका कारण सङ्क्रमितले अकालमै ज्यान गुमाउनु परिरहेको छ । अक्सिजनकै कारणले सङ्क्रमितले अकालमै ज्यान गुमाउनु नपरोस् भन्दै ‘एकका लागि एक अभियान’ले झापामा १२० थान अक्सिजन सिलिन्डर ल्याएको छ । 
नागरिक स्तरबाट गठित एकका लागि एक अभियान’ले चीनबाट मगाएको ५ सय थान सिलिन्डरमध्ये पहिलो चरणमा १२० थान ल्याएको हो । ४८ लिटर क्षमताको सिलिन्डरहरू बिहीबार दिउँसो काठमाडौँबाट झापा ल्याइएको अभियानका संयोजक महेन्द्र गिरीले जानकारी दिए । 
अभियानले जिल्लामा अक्सिजन सिलिन्डर बैङ्क स्थापना गर्न ‘एक व्यक्ति एक सिलिन्डर’ अभियान सुरु गरेको छ ।  त्यसका लागि एक व्यक्तिले एउटा सिलिन्डरबापत १५ हजार रुपैयाँ अभियानलाई सहयोग गर्दै आइरहेका छन् । हालसम्म अभियानमा ५० लाख बढी रकम जम्मा भइसकेको जनाइएको छ । व्यक्तिगत र संस्थागत गरी देश तथा विदेशबाट हालसम्म ३५० वटाभन्दा बढी सिलिन्डरका लागि अभियानको खातामा रकम सङ्कलन भइसकेको छ । 
झापा ल्याइएको १२० थान सिलिन्डरमध्ये २० थान सिलिन्डर सहयोगी हात झापामार्फत अभियानलाई बुझाइएको अभियानकर्ता नवीन गट्टानीले बताए । उनले भने, ‘अब थप चार सय थान सिलिन्डर चीनबाट झापा आउँछ ।’
पहिलो चरणमा आएको अक्सिजन सिलिन्डर जिल्ला प्रशासन कार्यालय झापासँग सहकार्य गरी आवश्यकता अनुसार जिल्लाका अस्पतालहरूलाई हस्तान्तरण गरिने अभियानका संयोजक गिरीले बताए ।  ‘अस्पतालपछि होम आइसोलेसनमा बसेका सङ्क्रमितको स्वास्थ्य अवस्था हेरेर पनि अक्सिजन सिलिन्डर उपलब्ध गराउने छु,’ उनले भने । 
पहिलो चरणको कोरोना संक्रमण बेला ‘एकका लागि एक अभियान’ले जनस्तरकै सहयोगबाट कोटिहोममा पीसीआर ल्याब स्थापना गरेको थियो । अहिले कोटिहोमको पीसीआर ल्याब मेची अञ्चल अस्पतालको व्यवस्थापनमा सञ्चालनमा रहेको छ ।  
 

सम्बन्धित समाचार