८ हजार ८४८ जना कोरोनामुक्त, थपिए ८ हजार ९८० संक्रमित, १२९ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ सय २९ जनाको कोरोनाको कारण मृत्यु भएको छ । योसँगै कोरोनाका कारण अहिलेसम्म नेपालमा ६ हजार १ सय ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि हिजो कोरोनाका कारण १ सय ७७ जनाको मृत्यु भएको थियो । आज देशभर थप ८ हजार ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ३ सय ५७ जना पीसीआर र ७ सय ४८ जनाको एन्टीजेन परीक्षण गर्दा ८ हजार ९ सय ८० जनामा पोजेटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ४८ जना संक्रमित कोरोना मुक्त भएका छन् । अहिले १ लाख १५ हजार ८ सय ६ जना संक्रमित आइसोलेसनमा छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख १० हजार ८६ पुगेको छ भने ३ लाख ८३ हजार ६ सय ४८ निको भएका छन् भने ६ हजार १ सय ५३ संक्रमितको मृत्यु भएको छ ।