२०८३ बैशाख ७ गते , सोमबार

भद्रपुरका एकसहित झापामा थप चार जनाको कोरोनाबाट मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ९ गते , आईतबार
भद्रपुरका एकसहित झापामा थप चार जनाको कोरोनाबाट मृत्यु

झापा । झापामा थप चार जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा चारै जना पुरुष रहेका छन् । कनकाई, कमल, अर्जुनधारा र भद्रपुरका एक–एक जनाको मृत्यु भएको हो । कनकाई नगरपालिका ३ का करिब ४० वर्षीय पुरुष सङ्क्रमितको उपचारको अभावमा ज्यान गएको छ । संक्रमण पुष्टि भएर होम आइसोलेसनमा रहेका ती सङ्क्रमितको स्वास्थ्य अवस्था गम्भीर भएपछि हिजो बेलुका उपचारका लागि धरानको बिपी कोभिड हस्पिटल लगिएको थियो । त्यहाँ बेड खाली नभएको भन्दै फर्काइदिएपछि बिर्तामोडतर्फ ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको नगरपालिकाका सूचना अधिकारी लक्ष्मी अधिकारीले जानकारी दिए । योसँगै कनकाई नयाँ भेरियन्टबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।

त्यस्तै अर्जुनधारा ११ का ५२ वर्षीय लिम्बू थरका पुरुषको धरानमा गए राति मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका मुकुन्द बस्नेतले बताए ।अर्जुनधारामा दोस्रो लहरमा कोरोना सङ्क्रमणबाट ८ जनाको मृत्यु भएको छ । त्यस्तै कमल गाउँपालिका वडा नं ६ का ७३ वर्षीय वृद्धको दमकको लाइफलाइन अस्पतालमा गए राति ११ बजे मृत्यु भएको छ । सोही अस्पतालमा एन्टीजेन टेस्टमा पोजेटिभ देखिएको र उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखाका इन्द्र अर्यालले बताए ।

त्यस्तै भद्रपुर वडा नं २ का ५२ वर्षीय पुरुषको आज बिहान मेची अस्पतालमा मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ । योसँगै भद्रपुरमा कोरोनाको नयाँ भेरियन्टबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।

सम्बन्धित समाचार