एकका लागि एक अभियानद्वारा निजी अस्पताललाई अक्सिजन सिलिन्डर, सरकारी मेची अस्पताल रित्तै !
झापा । झापामा एकका लागि एक अभियानले सुरु गरेको अक्सिजन बैङ्क मार्फत अक्सिजन वितरण सुरु भएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको समन्वयमा अभियानले झापाको विएण्डसीमा २० थान, विर्तासिटी अस्पताललाई १५ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको अभियानका सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । अभियानले पहिलो चरणमा १ सय थान सिलिन्डर ल्याएको छ । अरू ४ सय थान चाइनाबाट ल्याउने प्रक्रिया पुरा गरिसकेको सहसंयोजक बस्नेतले बताए ।
अस्पताल तथा व्यक्तिले अक्सिजन सिलिन्डर प्रयोग गर्न प्रति सिलिन्डर १५ हजार धरौटी र अक्सिजन भर्ने र ढुवानी बापतको खर्च १ हजार व्यहोर्नु पर्ने छ । खाली सिलिन्डर फिर्ता भएपछि धरौटी फिर्ता हुने छ । धरौटी राख्न नसक्ने व्यक्तिले जनप्रतिनिधि वा अभियान्ताहरुको सिफारिसमा सिलिन्डर पछि फिर्ता गर्ने सर्तमा लान सकिने अभियानले कार्य विधि बनाएको छ ।
त्यसैगरी झापामा भर्खरै खुलेको समर्पित नामक संस्थाले मेची प्रादेशिक अस्पताल भद्रपुरलाई तत्कालको लागि काम चलाउन १५ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको समर्पितका अध्यक्ष सिए सुनिलकुमार अग्रवालले जानकारी दिए ।