नागरिक समाजद्वारा भद्रपुरमा कोभिड हेल्प डेस्क स्थापना
भद्रपुर । तीव्र रुपमा फैलिरहेको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्प भएको छ । संक्रमण न्यूनीकरण हुनुको साटो बढ्दो क्रममा रहेकाले मुलुक झन्डै बन्दाबन्दीको अवस्थामा छ । मुलुकका ७७ जिल्लामा झापा जिल्ला पनि कोभिड–१९ संक्रमणको रेड जोनमा छ ।
कोभिडको संक्रमण फैलनु, अस्पतालमा भर्ना हुनु त स्वाभाविक भइसकेको छ, तर अस्पतालमा आफन्तको उपचारमा पुगेकाहरू समेत अन्योलमा रहने गरेका छन् । कोभिड–१९ सङ्क्रमितदेखि बिरामी कुरुवा लगायतलाई द्रुत सहयोग पुर्याउन नागरिक समाजको तर्फबाट भद्रपुर मै पहिलो पल्ट कोभिड हेल्प डेस्क सञ्चालनमा ल्याइएको छ ।
नागरिक समाजको तर्फबाट सहारा नेपाल र नेपाल रेडक्रस सोसाइटी झापा शाखा सल्लाहकार सहित गैरसरकारी संस्था महासंघ झापा, नेपाल पत्रकार महासंघ झापा, नेपाल बार एसोसिएसन झापा इकाई, जिल्ला सहकारी सङ्घ झापा र नाइट चेस क्लब कांकरभिट्टा रहेको कोभिड प्रभावित सहयोग सहयोग समिति झापा गठन गरी सोही समिति मार्फत भद्रपुरमा आइतबारदेखि कोभिड हेल्प डेस्क सञ्चालनमा ल्याइएको हो ।
गैरसरकारी संस्था महासंघ झापाका अध्यक्ष हरिप्रसाद गौतमका अनुसार मेची प्रादेशिक अस्पतालमा रहेका कोभिडका बिरामी तथा कुरुवालाई दुत्र सेवा तथा सहयोग पु¥याउन कोभिड हेल्प डेस्क सहयोगी हुने बताए ।
दाताहरूको सहयोगलाई व्यवस्थापन गर्ने, कोभिड संक्रमित तथा कुरुवालाई आवश्यक सरसल्लाह तथा सक्दो सहयोग गर्ने, मेची कोभिड अस्पतालको सरसफाइ, सुरक्षा लगायतमा सहजीकरण तथा समन्वयन गर्ने हेल्प डेस्कको मुख्य उद्देश्य रहेको गौतमले बताए । गौतमका अनुसार हेल्प डेस्कमा स्वयम् सेवकको रुपमा पत्रकार दीपक अधिकारी र राजा मण्डल कार्यरत छन् ।
समाज कल्याण परिषद्को सल्लाह र समन्वयनमा नागरिक स्तरबाट जिल्ला जिल्लामा कोभिड प्रभावित सहयोग समिति गठन भइरहेको र कोभिड अस्पतालमा सहयोग पुर्याइरहेको छ । झापामा भने पहिलो पल्ट मेची प्रादेशिक अस्पताललाई केन्द्रीकृत गरी कोभिड हेल्प डेस्क सञ्चालनमा ल्याइएको हो ।