२०८३ बैशाख ७ गते , सोमबार

हल्दिवारीका अध्यक्ष लिङदेन सङ्क्रमितको घर-घरमा पुगेर पोसिलो खाद्यवस्तु प्रदान गर्दै

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १२ गते , बुधबार
हल्दिवारीका अध्यक्ष लिङदेन सङ्क्रमितको घर-घरमा पुगेर पोसिलो खाद्यवस्तु प्रदान गर्दै

झापा । हल्दिवारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङदेनले कोरोना संक्रमित बिरामीहरूको घर–घरमै पुगेर पोसिलो खाद्यवस्तु प्रदान गरेका छन् ।
गाउँपालिका भरिका सङ्क्रमितहरूको मनोबल उच्च राख्न र स्वास्थ्यमा लाभ पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य मापदण्ड अपनाउँदै अध्यक्ष लिङ्देनले उनीहरूको घरमै पुगेर पोसिलो खाद्यवस्तु प्रदान गरेका हुन् । गाउँ कार्यपालिकाको जेठ ५ गते बसेको बैठकको निर्णय अनुसार प्रत्येक सङ्क्रमितहरूलाई ३ केजी चना, २५० ग्राम किसमिस, २५० ग्राम काजु, २५० ग्राम हाडे बदाम, ५०० ग्राम डाबर च्वानप्राश, २५० ग्राम छोकडा, १०० ग्राम पिस्ता बदाम र १०० ग्राम हनिसहितको प्याकेट प्रदान गरेको अध्यक्ष लिङ्देनले जानकारी गराएका छन् । उनले प्रत्येक प्याकेटको मूल्य १ हजार ९ सय ३० रुपैयाँ पर्न गएको बताए ।
गाउँपालिका भरि दोस्रो पटक कोरोना भाइरसको महामारी पश्चात् वैशाख ११ गते देखि जेठ ९ गतेसम्ममा १ सय ५९ जना कोरोना संक्रमित भएका छन् । उनीहरू सबैलाई पोसिलो खाद्यवस्तु वितरण गरिएको हो । पोसिलो आहारले सङ्क्रमितलाई थोरै भए पनि राहत मिल्ने र मानव स्वास्थ्यलाई पनि लाभ हुने भएपछि आफूले बिरामीहरूको घरघरमै पुगेर वितरण गरेको अध्यक्ष लिङ्देनको भनाई थियो ।
संक्रमितहरु मध्ये ३ जनाको मृत्यु भइसकेको छ भने ११५ जना होम आइसोलेसनमा, २ जना अस्पतालको आइसोलेसनमा रहेको र ३९ जना निको भइसकेका छन् ।
कोरोना भाइरसको लक्षण देखिएका व्यक्तिहरूले पीसीआर स्वाब सङ्कलन र एन्टिजेन्ट जाँच गर्नु पर्ने भएमा प्रत्येक हप्ताको आइतबार, मङ्गलवार र बिहीबार बिहान ८ बजे भित्र आइपुग्नु पर्ने गाउँपालिकाले जनाएको छ । बिरामीको अवस्था र आवश्यकता हेरेर अन्य दिनमा पनि जाँच गर्न सकिने जनाइएको छ ।

सम्बन्धित समाचार