झापामा थप पाँच जनाको मृत्यु, थपिए २०८ जना कोरोना संक्रमित
झापा । झापाको मेचीनगर र दमकका दुई– दुई गरी पाँचजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यसै क्रममा मेचीनगरमा थप दुई जना कोरोना संक्रमितको आज मृत्यु भएको हो । मृत्यु हुनेहरू वडा नम्बर १० र वडा नम्बर १३ का दुई पुरुष रहेको मेचीनगर कोभिड संयोजक नबिन बरालले बताए । वडा नम्बर १० का ३९ वर्षीय पुरुषको दमक लाइफलाइन अस्पतालबाट एम्बुलेन्समार्फत घर ल्याउने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ ।त्यस्तै वडा नम्बर १३ का ५२ वर्षीय पुरुषको बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो । आज थप दुई संक्रमितको मृत्यु हुँदा मेचीनगरमा कोरोनाको दोस्रो लहरका कारण ज्यान गुमाउनेको सँख्या १४ पुगेको छ ।
त्यस्तै दमक नगरपालिका वडा नं १० र ८ का दुईजना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । समान ५५ वर्ष उमेर भएका ती दुवैको उपचारका क्रममा कोशी कोभिड हस्पिटल विराटनगरमा मृत्यु भएको हो । एकजनाको गएराति २.१५ बजे र अर्कीको बिहान ९.३० बजे मृत्यु भएको जनाइएको छ । वडा नं १० की महिलाको जेठ ८ गते र वडा न। ८ की महिलाको बैशाख २७ गते संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । योसँगै दमकमा नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या १६ पुगेको छ । त्यस्तै कमल गाउँपालिका वडा नं ३ की श्रेष्ठ थरका ७६ वर्षिय बृद्धको गएराति बिएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखाका इन्द्र अर्यालले जानकारी दिए । योसँगै कमलमा दोस्रो लहरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ४ पुगेको छ । झापामा भने हालसम्म कोरोना संक्रमणबाट २२८ जनाको ज्यान गइसकेको छ ।
थपिए २०८ जना कोरोना संक्रमित
पछिल्लो २४ घण्टाभित्र झापामा २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा एक सय जना महिला छन् ।स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितमध्ये पीसीआर परीक्षणबाट १६९ जना र एन्टिजेनबाट ४९ जना रहेका छन् । संक्रमितमध्ये सबैभन्दा बढी बिर्तामोडका ३० जना रहेका छन् । जसमा २२ जना महिला रहेका छन् ।यसैगरी, अर्जुनधाराका १५ महिलासहित २५ जना, दमकमा ११ महिलासहित २४ जना, भद्रपुरमा ८ महिलासहित १९ जना, मेचीनगरमा ८ महिलासहित १७ जना, कनकाईमा ७ महिलासहित १५ जनामा संक्रमण पुष्टि भएको छ ।
कोभिड फोकल पर्सन जीवन चौंलागाईका अनुसार कमल गाउँपालिकामा १३ महिलासहित २३ जना, बुद्धशान्तिमा ९ महिलासहित १३ जना, शिवसताक्षीमा ३ महिलासहित ९ जना, बाह्रदशीमा २ महिलासहित ६ जना, गौरीगञ्जमा १ महिलासहित ४ जना, झापामा ३ महिलासहित ४ जना, कचनकवलमा १ महिलासहित ५ जना र हल्दिबारीमा ४ महिलासहित ७ जनामा संक्रमण पुष्टि भएको छ ।योसँगै झापामा कुल संक्रमितको संख्या ९ हजार ९८८पुगेको छ । आज १२६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ५ हजार ७५५ पुगेको छ ।