कोरोना खोप खरिद गर्ने मेचीनगरको निर्णय
झापा । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा समुदाय स्तरमा फैलिरहेको अवस्थामा मेचीनगर नगरपालिकाले नगरवासीका लागि खोप ल्याउने तयारी गरेको छ । कोरोना खोपका लागि मेचीनगर नगरपालिकाले सङ्घीय सरकारसँग अनुमति माग गरेको जनाइएको छ ।
स्थानीय तहले खोप किन्न पाउने व्यवस्था सङ्घीय सरकारले नीतिगत रुपमा नै गरिदिनु पर्ने भएकाले नगरपालिकाले सङ्घीय सरकारसँग यस्तो माग गरेको हो । कोभिड १९ का कारण कुनै पनि नगरवासीले मृत्युवरण गर्न बाध्य हुनु नपरोस् भनेर नगरवासीको जीवन रक्षाका लागि नगरपालिकाले आफ्नै स्रोतबाट खोप किन्ने तयारी गरेको नगरप्रमुख विमल आचार्यको भनाई छ ।
नगर कार्यपालिकाको बैठकले कोभिड १९ विरुद्धको खोप खरिद गर्ने निर्णय गरेको नगर प्रमुख आचार्यको भनाई छ । नगरपालिकाबाट पहिलो डोज लिएका धेरैले दोस्रो डोज लिन नपाएका कारण नगरपालिकाले आफैँ खोप खरिद गर्न आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गर्ने समेत नगरप्रमुख आचार्यलाई उदृत गदै मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए ।
सरकारले खोप खरिद गरेर दिन नसक्ने अवस्था सिर्जना हुने हो भने नगरपालिका स्थानीय सरकार खोप खरिद गर्न तयार रहेको उनको भनाई छ । मेचीनगरमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ भने अहिलेसम्म १५ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।