भद्रपुर नगरपालिकाद्धारा कलबलगुरीमा २८ शय्याको कोभिड आइसोलेसन
झापा । भद्रपुर नगरपालिकाले प्रदेश प्रशिक्षण केन्द्र कलबलगुरी परिसरमा २८ शय्याको कोभिड आइसोलेसन सञ्चालनमा ल्याउने तयारी पूरा गरेको छ ।
नगरपालिकामा शुक्रवार बसेको आइसोलेसन सञ्चालन समितिको बैठकले गणतन्त्र दिवसको अवसरमा भद्रपुर- १० स्थित प्रदेश प्रशिक्षण केन्द्र कलबलगुरी परिसरमा कोभिड आइसोलेसन उद्घाटन गर्ने निर्णय गरेको छ । सो आइसोलेसनको उद्घाटन प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले गर्ने निर्णय गरिएको नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
बैठकमा आइसोलेसन केन्द्र सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, खानेपानी, विद्युत्, सरसफाइ, सुरक्षा तथा स्वास्थ्यकर्मी परिचालन, आइसोलेसन सञ्चालनका लागि आवश्यक पर्ने यन्त्र उपकरण, खाद्यान्न लगायतका सामाग्री खरिद गर्न जिम्मेवारी बाँडफाँड गरिसकेको जनाइएको छ । आइसोलेसन केन्द्रका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरू अक्सिजनका सिलिन्डर, अक्सिजन कन्सन्टेटर, प्लस अक्सिमिटर, एम्बुलेन्स, शव वाहन, एन्टिजेन किट, भिटिएम, पिपिई सेट, मास्क, ग्लोब, स्यानिटाइजर, सोडियम हाइपोक्लोराइड प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा माग गर्ने बैठकले निर्णय गरेको छ ।
आइसोलेसन केन्द्रमा आवश्यक सुरक्षाकर्मीहरूको व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय झापालाई अनुरोध गर्ने, केन्द्रमा कोभिड फोकल पर्सन मनोज भट्टराईलाई जिम्मेवारी दिनुका साथै र नगर प्रहरी प्रमुख चन्द्र प्रधान, कोभिड फोकल पर्सन र एक जना सवारी चालकलाई पूर्ण कालिन रुपमा कामकाज खटाउने निर्णय गरिएको छ ।