दीर्घ रोगीको उपचार सेवाका लागि मेची अभियान
भद्रपुर । कोभिड-१९ सङ्क्रमणयता उपचारमा जान नपाएका दीर्घ रोगीहरूको आवश्यक उपचार जुटाइ दिन मेची अभियानले विशेषज्ञ सेवा सुरु गरेको छ । मेचीनगरको वाहुण्डागी र भद्रपुरको चन्द्रगढीबाट दीर्घ रोगीको उपचारका लागि विशेषज्ञ डाक्टरहरूबाट अनलाइन उपचार सेवा आरम्भ गरिएको हो । “हामी जुट्छौँ फेरि उठ्छौँ” भन्ने नारा सहित अभियानले कोभिड सङ्क्रमणबाट पीडित उपचारविहीन तथा विभिन्न दीर्घ रोगको उपचार नपाएकाहरूलाई घर घरमा गएर विशेषज्ञ सेवा दिन थालेको हो ।
अभियानका चन्द्रगढी संयोजक सोमप्रसाद ढुङ्गेलका अनुसार पहिलो दिन भद्रपुरका ३ जना दीर्घ रोगीलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विशेषज्ञ डा. सञ्जीवकुमार शर्माले सेवा दिएका थिए । एक जना अर्बुद रोगी, अर्को मुटु तथा दम र अर्को स्त्री रोग पीडितले कोभिड संक्रमण त्रासले अस्पताल पुगेर सेवा लिन नसकेपछि डा. शर्माले अनलाइनबाट उपचार सेवा दिएको संयोजक ढुङ्गेलले जानकारी दिए । उनका अनुसार बिरामीको आवश्यकता अनुसार अभियानले विशेषज्ञ सेवा दिइरहने छ भने औषधी र प्रयोगशाला परीक्षण पनि निरन्तर सञ्चालित हुने छ ।