उपचार खर्च तिर्न नसक्दा मेडिका अस्पतालको बेडमै बस्न बाध्य राजवंशी, सहयोगको लागि अपिल
झापा । एकातिर कोरोना महामारी, अर्कोतिर अस्पतालमा उपचार गराएको पैसा तिर्न नसक्दा एक मजदुर अस्पताल बेडमै बस्न बाध्य भएका छन् । झापाको बुद्धशान्ति गाउँपालिका निवासी ३५ वर्षका सखा राजवंशी बिर्तामोडको मेडिका अस्पतालमा उपचारका लागि गएका थिए ।
मजदुरी पेसा गरी जीविकोपार्जन चलाउँदै आएका राजवंशी घरबाट लडेर खुट्टा भाँचिँदा घाइते भएपछि उपचारका लागि मेडिका अस्पताल पुगेका हुन् । उनको उपचार सक्यो, तर अस्पतालमा पैसा तिर्न नसक्दा एक सातादेखि उनी अस्पतालको बेडमै बस्न बाध्य भएका छन् । मजदुरी गर्दै बिहान बेलुकीको छाक टार्दै आएका राजवंशीको आर्थिक अवस्था निकै कमजोर छ । उनको परिवारमा अरू कोही पनि छैन ।
उनले अस्पताल प्रशासनलाई एक लाख पचास हजार तिर्न पर्ने देखिन्छ । यस्तो पीडा देखेर स्थानीय साथीभाइले करिब ५० हजार रुपैयाँ आर्थिक सहयोग जुटाएर अस्पताल पुर्याउँदा समेत अस्पताल प्रशासनले अन्य रकम छुट गर्न नमान्दा अहिले साथीलाई डिस्चार्ज गर्न नसकेको स्थानीय देवी दुलालले जानकारी दिए । अस्पतालबाट निकाल्न सबैले आर्थिक सहयोग गरिदिनु हुन उनले सबै समक्ष अपिल समेत गरेका छन् ।