बिर्तामोडमा शव व्यवस्थापनमा खटिने टोलीमाथि स्थानीयको अवरोध
झापा । कोरोना संक्रमणबाट मृत्यु हुनेको शव व्यवस्थापनमा खटिने टोलीलाई बिर्तामोड नगरपालिका ४ का स्थानीय बासिन्दाले टोल प्रवेशमा रोक लगाएका छन् ।
स्काउटबाट तालिम लिएर झापाका विभिन्न पालिकामा शव व्यवस्थापन सुरु गरेको टोलीलाई बिर्तामोड ४ को सनातन टोल विकास संस्था क्षेत्रका बासिन्दाले अवरोध गरेको टोलीका सदस्य मदन ओलीले जानकारी दिए । उनीहरु आजैबाट सोही टोलमा रहेको एक घर भाडामा लिई शव व्यवस्थापनमा खटिने तयारीमा थिए ।
६ हजार रुपैयाँ भाडा तिरेर बस्न तयार भएको टोलीलाई स्थानीय बासिन्दाले टोलमा कोभिड संक्रमण जोखिम हुने भन्दै प्रवेशमै रोक लगाएका हुन् । शव व्यवस्थापनका लागि आवश्यक सामग्री समेत घरमा राख्न नदिएको ओलीले बताए । सो टोलका अगुवा भनिने बालकृष्ण बुढाथोकीसहितका बासिन्दाले अवरोध र्पुयाएको ओलीको भनाइ छ ।
टोलीमा चार जना युवा छन् । उनीहरु सामाजिक क्षेत्रमा क्रियाशील छन् । ‘ज्यानको जोखिम मोलेर काम गर्दा पनि सचेत नागरिक बस्ने ठाउँमा समेत यो प्रकारको सोचाइ हुनु दुःखद् छ’, ओलीले भने ।