बिर्तामोडको फोहोर व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई, मासिक कसले कति तिर्नुपर्छ ?
झापा । बिर्तामोडको फोहोर व्यवस्थापनको जिम्मा काठमाडौँको एक निजी कम्पनीले पाएको छ । तीन वर्षका लागि काठमाडौँको निराकार सरसफाइ सेवा प्रालिले फोहोर मैला व्यवस्थापनको ठेक्का पाएको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले जानकारी दिए ।
पूर्वमा इटहरी, दमकपछि बिर्तामोड नगरपालिकाले फोहोर व्यवस्थापन गर्न जिम्मा लगाएको छ । विशेष गरी सहरी क्षेत्रबाट फोहोर सङ्कलन गर्ने गरी निराकारले नगरपालिकासँग सम्झौता गरेको छ । आज एक कार्यक्रमका बिच सम्झौता भएको छ । नगरलाई १० लाख धरौटी बुझाएको सो कम्पनीले फोहोर व्यवस्थापन बापत बजार क्षेत्रमा सरसफाइ सेवा शुल्क उठाउने छ । नगरपालिका र सो कम्पनी बिच भएको सम्झौता अनुरूप शुल्क निर्धारण गरिएको छ ।
एक परिवार बस्ने घर (अढाई तलेसम्म) ले फोहोर उठाए बापत मासिक १९०, साढे दुई तलाभन्दा माथि प्रति तला ५०, कस्मेटिक, पत्रपत्रिका, लत्ताकपडा पसल १००, किराना, खाद्यान्न, फेन्सी १००, चिया कफी, केक तथा बेकरी २००, साइबर, स्टेशनरी, पत्रपत्रिका, रेडियो र टिभी २००, तरकारी, फलफूल तथा जुस २००, सैलुन, व्यूटीपार्लर र औषधि व्यवसायीलाई २००, औषधि पसल ल्याब सहितकोलाई २९०, मासु पसल २९०, मासु पसल वधशाला पनि भएको सानो पसल १ हजारदेखि १५ सयसम्म, वधशाला समेत भएको मासु पसल ठुलोलाई २५ सय, निजी विद्यालयको हकमा ४ सयदेखि १४ सयसम्म, बैक तथा सहकारी, स्कुल क्याम्पस, कार्यालयहरू, विदेशी बस्ने घरहरूलाई ५ सयदेखि एक हजारसम्म, सिनेमा हलहरूलाई २५ सय, उद्योग, कलकारखाना, गार्मेन्टलाई १ हजारदेखि १० हजारसम्म, डिपार्टमेन्ट स्टोरहरूलाई २ हजार ९००, पार्टी प्यालेस, भोज आयोजना स्थलहरु प्रति ट्याक्टर १४ सय, प्रति निशान ट्रक २९ सय, सुपर स्टोर प्रति ट्याक्टर २ हजार र डिस्पेन्सरीहरूका लागि १ देखि २ हजारसम्म सरसफाइ शुल्क बुझाउनुपर्ने छ ।