खेलकुद महासङ्घद्वारा पत्रकार महासङ्घलाई स्वास्थ्य सामग्री प्रदान
झापा । कोभिड-१९ को विषम परिस्थितिमा देशव्यापी रुपमा अभियानमा जुटेको नेपाल खेलकुद महासङ्घले नेपाल पत्रकार महासंघ झापालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । अभियान अन्तर्गत बिहीबार झापाको बिर्तामोड आइपुगेको टोलीले मास्क, सेनीटाइजर प्रदान गरेको हो ।
खेलकुद महासङ्घका सचिव सन्तोष बान्तवा, बासूँ नेपाल, स्थायी कमिटी सदस्य सन्तोषी श्रेष्ठ, उमेश खतिवडाले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, उपाध्यक्ष केशव भट्टराई, सुशीला सङ्ग्रौलालाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । त्यस क्रममा खेलकुद महासङ्घका सचिव सन्तोष बान्तवाले सचेतनाको पाटोसँगै जोखिम मोलेर नागरिकलाई सही सूचना प्रवाहमा खटेका सञ्चारकर्मीलाई कार्यस्थलमा सुरक्षित रहँदै थप हौसला प्रदान गर्न स्वास्थ्य सामग्री प्रदान गरिएको बताए । ठुलो परिणाममा सहयोग गर्न नसके पनि मनोबल उच्च राख्न र जनतालाई भयबाट मुक्त बनाउनका लागि अभियान सञ्चालन गरेको उनले बताए ।
त्यस्तै खेलकुद महासङ्घका अर्का सचिव बासूँ नेपालले सङ्गठनको निर्णयअनुसार सात प्रदेशका ७७ वटै जिल्ला र सबै स्थानीय तहलाई अभियानमा जोड्ने लक्ष्य रहेको बताए । उनले हालसम्म ७२ जिल्लामा अभियान पुगेको जनाए ।
पत्रकार महासंघ झापाका अध्यक्ष गिरीले महामारीको सङ्कटपूर्ण घडीमा अग्रपङ्क्तिमा काम गर्ने पत्रकारको सुरक्षाका लागि सामग्री प्रदान गरेर हौसला बढाएको भन्दै खेलकुद महासङ्घलाई धन्यवाद ज्ञापन गरे ।
झापा सचिव भवानी बरालले सञ्चालन गरेको कार्यक्रममा खेलकुद महासङ्घको तर्फबाट सुरज श्रेष्ठ, प्रतापसिंह कार्की,सुरेश कार्की, सुवास मेचे, सुरेन धिमाल, राजकुमार ओली तथा पत्रकार महासङ्घको तर्फबाट विनोद पाण्डे, रञ्जित परियार,होमप्रकाश अधिकारी, रेजीना रोदन, नरेन्द्र ढकाल लगायतको सहभागिता थियो । कोभिड १९ मा फ्रन्टलाइनमा खटिएका स्वास्थ्य, सुरक्षा र सञ्चारकर्मीलाई हौसला प्रदान गर्दै सचेतनामूलक कार्यक्रम गर्न महासङ्घले वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेतको नेतृत्वमा देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।