मेची अस्पतालमा अक्सिजन प्लान्ट जडान बारे काँग्रेस नेता सिटौलाको चासो
भद्रपुर । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाल चिकित्सक सङ्घ र मेडिकल एसोसिएसन नेपालको सहकार्यमा विपन्नको उपचारमा सहजता ल्याउन मेची अस्पतालमा थालिएको प्रयास बारे प्रमुख सुपरिटेण्डन टङ्कप्रसाद बाह्रकोटीसँग छलफल गरेका छन् ।
आफ्नो पहल स्वरूप चिकित्सक र मेडिकल एसोसिएसनले अक्सिजन प्लान्ट र भेन्टिलेटर उपलब्ध गराउने निश्चित भएपछि जडानका लागि छिटो काम अगाडि बढाउन मेची अस्पताल प्रशासनको नेतृत्व लिएका बाह्रकोटीसँग छलफल गरेका हुन् ।
निःशुल्क रुपमा अक्सिजन प्लान्ट र भेन्टिलेसन सहयोग आउने भएपछि सिटौलाले विपन्न नागरिकको ज्यान बचाउन अस्पतालमा व्यापक सुधार गरेर अगाडि बढ्न मेसु बाह्रकोटीलाई सुझाव समेत दिएका थिए । प्रदेश सभा सदस्य ओमप्रकाश सरावगी, क्षेत्रीय सभापति गणेश पोखरेल, वडाध्यक्ष द्वय गौरव सुब्बा मनोज, बन्धु कार्की, नेपाली काँग्रेस झापा जिल्ला सदस्य विजय रिजाल, महिला सङ्घ क्षेत्रीय सभापति शर्मिला अधिकारी सहित अस्पताल पुगेका झापा क्षेत्र नम्बर ३ का पूर्व सांसद समेत रहेका सिटौलाले अस्पतालको नयाँ भवनको अवस्था, स्वास्थ्य सामग्री जडान गर्ने स्थल, स्वास्थ्यकर्मीको अवस्था र कोभिडका बिरामीको चाप तथा उपचार अवस्था बारे चासो राख्दै त्यसमा परेको कठिनाइ समेतको जानकारी लिएका थिए ।
सिटौलासँग कुराकानी गर्दै बाह्रकोटीले नेपाल सरकारले पनि अक्सिजन प्लान्टका लागि काम अगाडि बढाउने प्रक्रियामा जाँदा जाँदै कोरोना महामारी बढेकाले रोकिएको बताउँदै नेपाल चिकित्सक सङ्घ तथा मेडिकल एसोसिएसन नेपाल मार्फत प्रतिदिन ११० सिलिन्डर भर्ने क्षमताको अक्सिजन प्लान्ट निर्माणको जानकारी प्राप्त भएको बताए ।
उनले सोही सङ्घ तथा अन्य दाता गरी करिब ९ वटा भेन्टिलेटर समेत प्राप्त हुने भन्दै आफू अस्पताल भित्रका समस्या हल गर्दै सेवाग्राहीको सेवा प्रवाहमा प्रतिबद्ध रहने प्रस्ट पारेका थिए । भर्खरै अस्पतालको नेतृत्व लिएका बाह्रकोटीले अस्पतालमा उपचार सेवा प्रवाह गर्दाको ६ करोड बढी ऋण रहेका कारण समस्या परेको गुनासो समेत गरे । उनले स्वास्थ्य बिमा बापत ५ करोड भुक्तानी नआउँदा औषध उपचारमा सङ्कट परेको समेत जानकारी दिए ।