कोरोना संक्रमित बिरामीलाई पोषणयुक्त खानेकुरा बाँड्दै माओवादी केन्द्र
भद्रपुर । नेकपा माओवादी केन्द्र भद्रपुरले पोषणयुक्त खानेकुरा वितरण अभियान सुरु गरेको छ । कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहरले अति प्रभावित सङ्क्रमितहरूका लागि कोभिड १९ तथा प्रकोप व्यवस्थापन समितिमार्फत माओवादी केन्द्रले असार २ गतेबाट भद्रपुर नगर भित्रका कोरोना संक्रमण भई उपचाररत बिरामीहरूलाई घर घरमा पुगेर पोषणयुक्त खानेकुरा वितरण सुरु गरेको हो ।
समितिका प्रवक्ता शिवकुमार राजभण्डारीका अनुसार सङ्क्रमितहरूले डर र त्रासका कारण नजिकका व्यक्तिहरूबाट सहयोग नपाउने र सरसापट वा किनमेल गर्न जान पनि सहज नहुने कारण हतोत्साहित भई झन् रोगले च्याप्ने भएकोले उनीहरूको मनोबल बढाउन स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरी थोरै भए पनि शक्तिबद्र्धक खानेकुरा उपलब्ध गराइएको हो ।
असार २ गतेदेखि संक्रमित भेटघाट सुरु गरेको समितिले ६ गतेसम्म भद्रपुर १, २, ४, ५ र ६ वडा भित्रका ६१ घरपरिवारलाई भेटी स्वास्थ्य तथा व्यवहारिक समस्याका जानकारी लिँदै प्रत्येक सङ्क्रमितलाई १ बोतल हर्लिक्स , १ बोतल च्यवनप्राश , स्याउलगायत पोषणयुक्त खानेकुरा वितरण गरिएको राजभण्डारीले जानकारी दिए ।
डिल्लीराम घिमिरेको संयोजकत्वमा सचिव नरेश सन्जेल , प्रवक्ता शिवकुमार राजभण्डारी सदस्यहरू मेदनी सिवाकोटी , एनपी वनेम, खगेन्द्र पराजुली ,पुकारचन्द्र राजवंशी , हंशधर राजवंशी , हजरत अलि, सीता न्यौपाने , शर्मिला खाती र दीपक राई रहेको समितिले नगद रकम तथा पौष्टिक सामग्रीहरू दाताहरूबाट सङ्कलन गरेर वितरण गरेको जनाइएको छ ।