राजेन्द्र घिमिरेको घोषणा : ‘जिल्ला नेतृत्व हाँक्न तयार छु’
झापा । नेपाली कांग्रेसका युवा नेता राजेन्द्र घिमिरेले समयले माग्यो भने आफु पार्टीको जिल्ला नेतृत्व हाँक्न तयार रहेको बताएका छन् ।
तल्लो तहका कार्यकर्ता पङ्तिको हित र उपल्लो नेतृत्वको गल्ती कमजोरीमा खुलेर बोल्ने स्वभावका नेता घिमिरेले आसन्न महाधिवेशनमा नेतृत्व तहमा जाने इच्छा राखेका हुन् । झापामा आगामी साउन २६ गते जिल्ला अधिवेशन हुने कार्यतालिका रहेको छ ।
जिल्लामा सभापति पदमा को को उम्मेद्वार बन्लान् भनेर पार्टी पङ्तिभित्र मात्र नभएर बाहिर पनि चासो बढेको बेला घिमिरेले आफुलाई पनि सभापतिको प्रतिष्पर्धामा रहेको जनाउ दिए । ‘२०३७ सालमा मेची बहुमुखी क्याम्पसको स्ववियूमा नेविसंघको तर्फबाट उम्मेद्वारी दिएर राजनीतिमा होमिएको हुँ,’ लोकतन्त्र पोस्टसँग उनले भने–‘वीपीको विचारलाई मानेर राजनीतिमा सक्रिय छु, समयले माग्यो भने जिल्लाको नेतृत्व गर्न तयार छु ।’
वैचारिक उद्देश्यमा अडिग रहेको र आजसम्म कसैको आश र त्रासबाट नचलेको जनाउँदै उनले सामाजिक सञ्जालमा समेत आइतवार लेखेका छन्–‘नतिजा आउँदै गर्छ, मैदान छाडिदैन ।’
उनले फेसबुकमा एउटा हिन्दी सायरी समेत साभार गरेका छन् । जसमा भनिएको छ–‘न हारना जरुरी है, न जितना जरुरी है, ये जिन्दगी एक खेल है, खेलना जरुरी हैं ।’ भद्रपुर निवासी घिमिरे हालै राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट खुला उम्मेदवार बनेका थिए । उनले कांग्रेसको आफ्नो मतभन्दा बढी मत पाएका थिए ।
उनी २०४९ सालमा कांग्रेसबाट भद्रपुर नगरपालिकाको वडाध्यक्ष निर्वाचित भएका थिए । २०५४ सालमा पार्टीका तर्फबाट उपप्रमुखको उम्मेद्वार समेत बनेका थिए । लोकतन्त्र पोष्टबाट