कोरोना संक्रमणबाट दमकमा सुत्केरी महिलाको मृत्यु
झापा । कोरोना संक्रमणबाट दमकस्थित लाइफलाइन अस्पतालमा मंगलबार विहान एक जना सुत्केरी महिलाको मृत्यु भएको छ । इलाम चुलाचुली ५ की ३१ वर्षीया महिलाको उपचारका क्रममा ज्यान गएको अस्पतालले जनाएको छ ।
दमककै ओम मेची अस्पतालमा २५ दिन अघि बच्चा जन्माएकी उनीमा स्वास्थ्य समस्या भएपछि गत असार ३ गतेदेखि लाइफलाइन अस्पतालमा भर्ना गरिएको थियो ।
सुत्केरी भएको एक सातापछि जाँचका लागि जाँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।उपचारमा संलग्न एक स्वास्थ्यकर्मीका अनुसार बच्चाको भने अहिलेसम्म कोरोना जाँच भएको छैन । पछिल्लो समयमा एन्टिजेनमार्फत जाँच गराएर मात्र गर्भवती महिलाहरुको अस्पतालले सुत्केरी गराउँदै आएको छ । त्यसैगरी अर्जुनधारा ४ की ८२ वर्षिया बृद्धाको बिर्तासिटी हस्पिटलमा कोरोना संक्रमणबाट मृत्यु भएको छ भने कमल ७ की ४७ वर्षिया महिलाको आम्दा अस्पतालमा मृत्यु भएको छ ।कोरोना संक्रमणबाट झापामा ३४९ जनाको ज्यान गएको छ ।