झापामा प्रधानमन्त्री ओलीविरुद्ध विद्यार्थीद्वारा 'रेबिज भ्याक्सिन' प्रदर्शन
झापा । झापाका पाँच वटा विद्यार्थी सङ्गठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पोस्टर जलाएर विरोध प्रदर्शन गरेका छन् । नेपाल विद्यार्थी सङ्घ, अखिल क्रान्तिकारी, माधव–झलनाथ निकट अखिल, जनमोर्चा र जनता समाजवादी पार्टीका विद्यार्थी सङ्गठनमा आबद्ध विद्यार्थीहरूले निषेधाज्ञाका बिच बिर्तामोडस्थित मुक्ति चोकमा बुधवार बेलुका प्रधानमन्त्री ओलीको पोस्टर जलाएर विरोध प्रदर्शन हुन् । प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिको घोर भर्त्सना गर्दै विद्यार्थीहरूले प्रतिकात्मक विरोध समेत जनाएका थिए । मलाई बहुला कुकुरले टोकेको छ रु भनेर ओलीले विपक्षीहरूप्रति लक्षित टिप्पणीको प्रतिवाद गर्दै विद्यार्थीहरूले बहुलाएको सामुदायिक कुकुरलाई रेबिज विरुद्धको खोप दिएर प्रतिकात्मक विरोध जनाएका हुन् ।
विरोध सभामा प्रधानमन्त्री ओलीको कार्यशैली अमर्यादित र अभिव्यक्ति अशिष्ट भएको भन्दै विद्यार्थीहरूले नाराबाजी गरेका थिए । संवैधानिक सर्वोच्चता कायम गर्न माग गर्दै विद्यार्थीहरूले प्रधानमन्त्री ओलीको वहर्गमन बाटो खुल्ला भएकाले बहुलाएको सामुदायिक कुकुर जस्तै व्यवहार गर्न थालेको विद्यार्थीले गम्भीर आरोप समेत लगाएका थिए । विद्यार्थीहरूले कुकुरलाई भ्याक्सिन लगाउने क्रममा प्रहरीसँग सामान्य घम्साघम्सी भएको थियो । विरोध सभामा नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेती, अखिल क्रान्तिकारीका अनिल सुवेदी, विद्यार्थी नेता पोषराज कटुवाल लगायतको उपस्थिति रहेको थियो ।