२०८३ बैशाख ४ गते , शुक्रबार

महिलाले पार्टी पदाधिकारीमा पुरुषसँग प्रतिस्पर्धा गर्नुपर्छ : कृष्णप्रसाद सिटौला

sajilo news
पार्थ मण्डल
२०७८ असार २१ गते , सोमबार
महिलाले पार्टी पदाधिकारीमा पुरुषसँग प्रतिस्पर्धा गर्नुपर्छ : कृष्णप्रसाद सिटौला

झापा ।  नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महिलामा कांग्रेसको पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्ने बताएका छन्। लोकतन्त्रका लागि हाम्रो अभियानले आइतबार साँझ आयोजना गरेको ‘नेपाली कांग्रेसको १४ औं महाधिवेशन,  नीति र नेतृत्वमा महिला’ विषयक प्रदेश १ र २ स्तरीय भर्चुअल अन्तरक्रियामा उनले पार्टी पदाधिकारीमा पुरुषसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता महिलाले राखे मात्र महिला क्षमता विकास हुने बताए।
‘पार्टीभित्र महिलाहरु समावेशी अधिकारका लागि मात्र लडेर हुँदैन, प्रतिस्पर्धामा जानुपर्छ,’ सिटौलाले भने, ‘प्रतिस्पर्धासँगै महिलाको क्षमता विकास हुँदै जान्छ।’ पूर्वमहामन्त्री सिटौलाले पार्टीभित्र चाकडी र चाप्लुसी बढ्दै गएकाले महिलाहरु नेतृत्वमा पुग्न नसकेको उल्लेख गरे। उनले संविधानअनुसार महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशत अधिकार दिनेबारे पार्टीभित्र आफू सकारात्मक रहेको बताए। 

कांग्रेस पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले महिलाहरु नेतृत्वमा पुग्न नसकेसम्म महिलाका लागि उचित नीति बन्न नसक्ने बताइन्। उनले भनिन्, ‘पार्टीको नीति निर्माणको ठाउँमा पुरुष हावी हुँदा महिला नेतृत्वलाई अगाडि बढाउन गाह्रो भयो।’  उनले मुलुकका हरेक आन्दोलनमा महिलाहरुले अग्रणी भूमिका निर्वाह गरे पनि नेतृत्व तहमा अहिलेसम्म पुग्न नसकेको बताइन्। संविधानको मर्म र भावनाअनुसार पार्टीले महिला नेतृत्वलाई अगाडि बढाउनुपर्ने नेतृ यादवको भनाइ थियो। 

पार्टीका केन्द्रीय सदस्य एवं कार्यक्रमका संयोजक डा. डिला सङ्ग्रौलाले नेपालमा आधाभन्दा बढी जनसंख्या भएको महिलाहरु कांग्रेसको नेतृत्वमा पुग्न नसकेको गुनासो गरिन्। उनले संविधानले राज्यको हरेक निकाय र पार्टीको हरेक संरचनामा एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गरे पनि उक्त अधिकारको पालना नभएको गुनासो गरिन्। रासस

सम्बन्धित समाचार