२०८३ बैशाख ४ गते , शुक्रबार

एमाले संसदीय दलको निर्णय : सर्वोच्चको परमादेशविरुद्ध भण्डाफोर अभियान संचालन गर्ने 

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण १ गते , शुक्रबार
एमाले संसदीय दलको निर्णय : सर्वोच्चको परमादेशविरुद्ध भण्डाफोर अभियान संचालन गर्ने 

काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतको परमादेशविरुद्ध भण्डाफोर अभियान संचालन गर्ने निर्णय गरेको छ। एमाले संसदीय दलको शुक्रबार संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले संसद पुनर्स्थापनासहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेशविरुद्ध भण्डाफोर अभियान चलाउने निर्णय गरेको हो।

सर्वोच्चले मुलुकलाई निर्दलीय व्यवस्थातिर धकेल्ने गरी फैसला गरेको भन्दै एमालेले जनतामाझ गएर भण्डाफोर गर्ने निर्णय गरेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। अदालतले दलीय व्यवस्था र लोकतन्त्रको उपहास गरेको बैठकले ठहर गरेको उनले बताए।

‘सर्वोच्च अदालतले दलीय व्यवस्थामाथि नै प्रहार गरेको छ’ भट्टराईले भने, ‘सर्वोच्चको फैसलाविरुद्ध देशभर भण्डाफोर अभियान संचालन गर्ने निर्णय भएको छ।’  विघटित संसदलाई पुनःस्थापित गरेको मात्रै भए स्वीकार्ने भन्दै उनले एउटा दलबाट अर्को दलका नेतालाई सघाउन जाने प्रवृत्तिलाई पनि स्वीकार्ने गरी फैसला आएकोले भण्डाफोर अभियान चलाउनु परेको भट्टराईको भनाई थियो।

सर्वोच्चको फैसला नमान्ने भन्दै उनले संवैधानिक इजलासले संविधानका धारा र उपधाराको अपव्याख्या गर्दै जनमतलाई बेवास्ता गरी देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको आरोपसमेत लगाए। बैठकले शुक्रबारको संसदीय दलको बैठकमा सहभागी नभएका सांसदहरुलाई पनि उपस्थित हुने वातावरण सिर्जना गर्ने निर्णय गरेको पनि उनले बताए। नेता माधवकुमार नेपाल पक्ष भने बैठकमा सहभागी थिएन। थाहाखबरबाट

सम्बन्धित समाचार