२०८३ बैशाख २१ गते , सोमबार

कारितासद्वारा मेची अस्पताललाई १६ लाख बढीको स्वास्थ्य सामग्री प्रदान

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ११ गते , सोमबार
कारितासद्वारा मेची अस्पताललाई १६ लाख बढीको स्वास्थ्य सामग्री प्रदान

भद्रपुर । अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक संस्था कारितास नेपालले झापाको मेची प्रादेशिक अस्पताललाई १६ लाख रुपैयाँभन्दा बढीको अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपालमा दोस्रो लहरको संक्रमण फैलिएयता कारितासले मेची प्रादेशिक अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको यो दोस्रो पटक हो ।

विभिन्न देशका कारितासहरुको आर्थिक सहयोगमा जुटाइएको स्वास्थ्य सामग्रीमा २ लाख १० हजार मूल्य बराबरको १० थान अक्सिजन सिलिन्डर, ५ लाख ८० हजार मूल्य बराबरको ४ थान अक्सिजन कन्सन्ट्रेटर, ४ लाख ९५ हजार ७८८ रुपैयाँ मूल्य बराबरको ४५० सेट पिपिई, १ लाख ३२ हजार मूल्य बराबरको १०० बट्टा सर्जिकल पन्जा, ६४ हजार १५ रुपैयाँ मूल्य बराबरको ५१५ बट्टा सर्जिकल मास्क, ४९ हजार ९४६ रुपैयाँ मूल्य बराबरको ३४ थान अक्सिमिटर, ४५ हजार ८७ रुपैयाँ मूल्य बराबरको २१० बट्टा स्यानिटाइजर र २४ हजार ९९० रुपैयाँ मूल्य बराबरको भेन्चुरी मास्क रहेको कारितास नेपालका कर्मचारी गोविन्दराज कट्टेलले बताए ।

अस्पतालको कोभिड वार्ड परिसरमा सोमबार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल र अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. टङ्कप्रसाद बाह्राकोटीलाई कारितास नेपाल, दमक शाखा कार्यालय प्रमुख देवेन्द्र पोखरेलले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । त्यस अवसरमा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको पनि उपस्थिति थियो । 

यसअघि, कारितास जर्मनको आर्थिक सहयोगमा ११ लाख रुपैयाँभन्दा बढीको स्वास्थ्य सामग्री मेची अस्पताललाई प्रदान गरिएको थियो ।  दोस्रो लहरको कोरोना संक्रमण तीव्र रुपमा फैलिएको, संक्रमणदर तीव्र हुँदा र अस्पताल जानुपर्ने बिरामीको सङ्ख्या निकै भएको, धेरै बिरामीमा अक्सिजनको मात्रा कम हुने, श्वासप्रश्वासमा निकै समस्या हुने गरेको पाइएकोले त्यस्तो बेला बढी आवश्यक पर्ने स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गरिएको पोखरेलले बताए ।

कारितास नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गत मेची अस्पतालनजिक क्षयरोग निवारण संस्थाको परिसरमा अस्पतालसँगको सहकार्यमा कोभिड १९ हेल्पडेस्क पनि सञ्चालन गरिरहेको छ भने यसै वर्ष झापाकै कमल गाउँपालिकाको आइसोलेसन सेन्टर र दमकमा पनि स्वास्थ्य तथा राहत सामग्री सहयोग गरेको पोखरेलको भनाइ छ ।

सम्बन्धित समाचार