२०८३ बैशाख १९ गते , शनिबार

मेचीनगर नगरपालिका पनि बुधवारदेखि एक साता 'सिल'

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण १२ गते , मंगलबार
मेचीनगर नगरपालिका पनि बुधवारदेखि एक साता 'सिल'

झापा । पूर्वी नाका काँकडभिट्टासँग जोडिएको मेचीनगर नगरपालिका एक साताका लागि सिल गरिएको छ । कोरोना संक्रमणदरमा कमी नआएपछि मङ्गलवार नगरपालिकामा बसेको कोभिड १९ संक्रमण नियन्त्रण समितिको बैठकले साउन १३ गते मध्य राति १२ बजेदेखि साउन १९ गते मध्यराति १२ बजेसम्म नगर क्षेत्र सिल गर्ने निर्णय गरिएको नगरपालिकाकी उपमेयर मिना उप्रेतीले जानकारी दिइन् । बैठकले नगरभित्र सिल अवधिभर अस्पताल, स्वास्थ्य चौकी, एम्बुलेन्स, वारुणयन्त्र, औषधी पसल, खोप सेवा, फोहोर मैला व्यवस्थापन, विद्युत् तथा सञ्चार सम्बन्धी सेवा मात्र सञ्चालनमा आउने निर्णय गरेको छ । 

त्यस्तै दूध, अण्डा, फलफूल, तरकारी लगायतका पसल बिहान ६ बजेदेखि ८ बजेसम्म खुला गर्न दिने निर्णय गरेको छ । नगरभित्र सञ्चालनमा आउने कक्षा ११ को परीक्षा स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न दिइने छ, भने  अन्य पसल, व्यवसाय, होटेल, बैङ्क तथा वित्तीय संस्थाहरू समेत पूर्ण रुपमा बन्द राख्ने निर्णय गरेको छ । झापाका १५ पालिकामध्ये ७ पालिकाले सिल गरिएको छ ।जिल्लाको  बुद्धशान्ति, अर्जुनधाराको शनिश्चरे बजार, कनकाई, दमक र शिवसताक्षी सिल भइसकेको छ । गौरादह नगरपालिकाले मङ्गलवारबाट र बिर्तामोड नगरपालिकाले बुधवारबाट सिल गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार