माओवादीले तोक्यो प्रदेश इन्चार्ज
झापा । नेकपा माओवादी केन्द्रको आइतबार बसेको स्थायी समिति बैठकले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्जहरू तोकेको छ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले प्रदेश कमिटिमा रिक्त पदाधिकारी र जिल्ला इन्चार्जहरू तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनकाअनुसार जिल्ला समन्वय समितिका संयोजकहरू तोक्ने जिम्मा सम्बन्धित प्रदेशलाई दिइएको छ। दुई दिनसम्म बसेको बैठकले विभिन्न प्रदेशका रिक्त पदाधिकारी, जिल्ला इन्चार्ज र पार्टीका विभाग प्रमुख तोक्ने निर्णय गरेको श्रेष्ठले जानकारी दिए।
केन्द्रीय प्रतिनिधि नभएका कतिपय जिल्लामा केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ। बैठकले प्रदेश १ बाहेक ६ वटा प्रदेशमा जिम्मेवारी तोकेको हो। प्रदेश १ मा भने पछि तोकिने जनाइएको छ। इञ्चार्जहरुमा प्रदेश २ मा गणेश साह, वागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणी खनाल, कर्णालीमा शक्तिबहादुर बस्नेत र सुदूरपश्चिममा खगराज भट्ट रहेका छन् ।