अस्पताल परिसरमा बिचौलियाको काम गर्ने थप १० जना पक्राउ
झापा । अस्पताल परिसरमा बिचौलियाको काम गर्ने थप १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुहबीका ५४ वर्षीय श्रीराम चौधरी, सिराहा–२ का २० वर्षीय सूर्यनारायण यादव, मोरङ कटहरी ३ का ४२ वर्षीय मोहम्मद।जलिद, विराटनगर ७ का १८ वर्षीय विश्वास मण्डल विराटनगर १४ का २३ वर्षीय रोशन गुप्ता, विराटनगर ४ का १९ वर्षीय सुजित यादव, त्यसैगरी विराटनगर ५ का २२ वर्षीय फिरोज रोय, २१ वर्षीय समीर खान, १८ वर्षीय सरोज खान र विराटनगर ३ का १८ वर्षीय अमित यादव रहेका छन् ।
उनीहरूले विराटनगर महानगरपालिका अन्तर्गतका विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका बिरामी तथा बिरामीका आफन्तहरूलाई भेटी “यहाँ डाक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन, औषधी राम्रो छैन” भन्ने जस्ता अफवाह फैलाई बिरामी तथा आफन्तहरूलाई झुक्कयाउने पारी आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागि प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न बाध्य गराउने गरेका थिए । उनीहरूले सर्वसाधारण नागरिकलाई हैरानी दिने गरेको पाइएको छ ।
पक्राउ परेका उपर जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ । यसअघि पनि जिल्ला प्रहरी कार्यालय मोरङबाट दुई जना बिचौलियालाई कानुन बमोजिम कारबाही गरिसकेको छ ।