२०८३ बैशाख ४ गते , शुक्रबार

झापा सभापतिका लागि थेबे र कट्टेलको नाम चर्चामा, दुवै जना सिटौलाकै प्यानलबाट उम्मेदवार बन्ने

काँग्रेसको १४ औं महाधिवेशन

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १० गते , विहीबार
झापा सभापतिका लागि थेबे र कट्टेलको नाम चर्चामा, दुवै जना सिटौलाकै प्यानलबाट उम्मेदवार बन्ने
झापा । नेपाली काँग्रेसको १४ औं महाधिवेशन लाई लिएर झापामा चुनावी सरगर्मी बढेको छ । काँग्रेस झापाको नेतृत्वका लागि पार्टीका पूर्व उपसभापति देउमान थेबे र उपसभापति राम कट्टेलले सभापति पदका लागि आकाङ्क्षा देखाएसँगै काँग्रेस झापामा चुनावी सरगर्मी बढेको हो ।
दुई कार्यकाल उद्धव थापाले नेपाली काँग्रेस झापाको नेतृत्व गरेका छन् । तर, १४ औं महाधिवेशनले नयाँ सभापति चयन गर्नुपर्ने भएसँगै पार्टीका दुई नेताले जिल्ला सभापतिका लागि आकाङ्क्षा देखाएका हुन् । कोरोना कहरका कारण पटक–पटक स्थगित भएको काँग्रेसको महाधिवेशन हुने चर्चा चलेसँगै झापामा गाउँदेखि जिल्ला तहसम्म चुनावी सरगर्मी बढेको हो ।
नेपाली काँग्रेसको आसन्न जिल्ला अधिवेशनका लागि अध्यक्षको उम्मेदवारका चर्चामा रहेका थेबे र कट्टेलले कृष्णप्रसाद सिटौलाकै टिमबाट अध्यक्षको उम्मेदवार बन्ने आकाङ्क्षा व्यक्त गरेका हुन् । नेपाल प्रेस युनियन झापाको आयोजनामा बिर्तामोडमा सम्पन्न नेपाली काँग्रेसको १४औं महाधिवेशन र झापाको सङ्गठन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्षका प्रत्यासीद्वय कट्टेल र थेबेले यस्तो आकाङ्क्षा व्यक्त गरेका हुन् ।

झापाको प्रजातान्त्रिक आन्दोलनमा थुप्रै अग्रज व्यक्तित्वहरूको योगदान रहेको चर्चा गर्दै उनीहरूले समाजवादीका व्याख्याता सिके प्रसाईँको नेतृत्वमा काँग्रेसको वैचारिक जग र कृष्ण सिटौलाको नेतृत्वमा साङ्गठनिक जग बसेको र सोही जगमा झापा काँग्रेसको राजनीति अघि बढेको धारणा राखेका थिए । झापाको राजनीतिमा कट्टेल र थेबे लगभग चार दशक अघिदेखि सक्रिय छन् । उनीहरूले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्नुपर्नेमा समेत जोड दिएका थिए ।
सिके प्रसाईँ र कृष्ण सिटौलाको राजनीतिक योगदान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत फैलिएको चर्चा गर्दै कार्यक्रमका अधिकांश वक्ताहरूले झापाको सङ्गठन, विचार र राजनीतिक अभियानले राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए ।


काङ्ग्रेसभित्र रहेको गुट–उपगुटको अन्त्य गरेर एक ढिक्का हुन सके आम निर्वाचनमा काँग्रेसको पक्षमा परिणाम आउने धारणा राख्दै वक्ताहरूले अधिवेशनमा देखिएको गुट– उपगुट निर्वाचन पछि स्वतः समाप्त पारेर ‘चेन अफ कमान्ड’ मा पार्टी चल्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा काँग्रेस झापाका उपसभापति देवी राजवंशी, सचिवद्वय प्रेम सम्बाहाम्फे र तारावीर कटुवाल, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द्र छेत्री, काँग्रेस झापाका पूर्वसचिवत्रय भगीरथ पोद्दार र भक्ति सिटौला, दयानन्द गोस्वामी, नेपाल महिला सङ्घ झापा सभापति सुशीला ढकाल, १ नम्बर क्षेत्रीय सभापति मणि उप्रेती, कमल गाउँपालिकाका सभापति खगेन भण्डारी लगायतले मन्तव्य राखेका थिए ।
नेपाली काँग्रेस झापाका सभापति उद्धव थापाको प्रमुख आतिथ्य तथा नेपाल प्रेस युनियन झापाका सभापति इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काँग्रेस झापाका प्रवक्ता लोकराज ढकालले २००७ सालदेखि हालसम्मको झापाको प्रजातान्त्रिक आन्दोलन समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाईँले विषय प्रवेश गराएको कार्यक्रममा स्वागत झापा उपाध्यक्ष गिरीराज भट्टराईले गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम घोर्साईंले गरेका थिए ।

५ 'ब' को नीतिमा काँग्रेस

नेपाली काँग्रेस झापाका सभापति उद्धव थापाले नेपाली काँग्रेस झापा ५ ‘ब’ को नीति लिएर अघि बढेको बताएका छन् । नेपाल प्रेस युनियन झापाको आयोजनामा बिर्तामोडमा सम्पन्न नेपाली काँग्रेसको १४औं महाधिवेशन र झापाको सङ्गठन विषयक अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि थापाले आफ्नो १० वर्षे ९दुई० कार्यकालको संक्षिप्त कार्यपत्र प्रस्तुत गर्दै यस्तो धारणा राखेका हुन् । राष्ट्रियता, प्रजातन्त्र र समाजवादी विचार, सामाजिक व्यवहार, व्यवसाय, जनचाहना अनुसारको विकासमा सक्रियता र विपथमा काँग्रेसको नीतिमा अघि बढेको बताए । आफ्नो नेतृत्वमा १० वर्ष झापा काँग्रेसका गतिविधि सक्रियता पूर्वक अघि बढेको चर्चा गर्दै सभापति थापाले यस अवधिमा प्रजातान्त्रिक आन्दोलनमा जीवन गुमाएका शहीदहरूको सम्झनामा प्रतिष्ठान तथा सालिक निर्माण गरेर प्रतिष्ठानमार्फत सर्वसाधारण जनतामा प्रजातान्त्रिक चेत भर्ने काम भइरहेको बताए ।

 विश्वनाथ घिमिरे, तुर्सा हेमरम, याम आचार्य, बुटन चौधरी, श्यामसुन्दर यादव, चन्द्रमणि भट्टराई, राजन गिरी लगायतको स्मृतिमा प्रतिष्ठान स्थापना गरी सालिक निर्माण गर्ने कार्य सम्पन्न भएको र केही प्रजातान्त्रिक योद्धाहरूको प्रतिष्ठान तथा सालिक निर्माण कार्य अघि बढाइएको जानकारी दिए ।
आफ्नो कार्यकालमा पाटीलाई आर्थिक रूपले सबल बनाएर चन्दा मागेर पार्टी चलाउने परिपाटीको अन्त्यका लागि क्रियाशील सदस्य नवीकरणमा न्यून लेवी तय गरेर वडादेखि जिल्लासम्मको आर्थिक अवस्था सुदृढ गरिएको जानकारी दिँदै यसलाई केन्द्रीय समितिले समेत अनुकरण गरेको सभापति थापाले बताए । लगभग ५ दशकदेखि झापाको राजनीतिमा सक्रिय थापाले पार्टीका गतिविधिहरूलाई संस्थागत रुपमा अघि बढाउन क्षेत्रीय, गाउँ÷नगर र वडा पार्टी कार्यालय निर्माण भएको र केही निर्माणको प्रक्रियामा रहेको जानकारी दिए । झापा काँग्रेसमा १६ हजार बढी क्रियाशील सदस्य नवीकरण र १७ हजार बढी नयाँ सदस्यताका लागि सिफारिस गरिएको जानकारी दिए ।


विगतको इतिहासलाई जोगाएर पार्टी सङ्गठनलाई बलियो बनाउँदै आम निर्वाचन पछि मात्रै पार्टीको आन्तरिक महाधिवेशन गर्दा सङ्गठनको हित हुने धारणा राखेका थिए । सहमति सहकार्य र एकताको नमुना झापाबाट प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै उनले विगतदेखि वर्तमानसम्मको नेतृत्वले काँग्रेसको सङ्गठन बलियो बनाउन गरेको निष्ठा, त्याग र समर्पण सम्मानयोग्य रहेको धारणा राखे । अन्तरक्रियामा बोल्ने अधिकांश वक्ताहरूले पार्टीको आन्तरिक लोकतन्त्र सुदृढीकरणका लागि समयमै महाधिवेशन अत्यावश्यक रहे पनि समय र परिस्थितिको मूल्याङ्कन गर्दै सङ्घ, प्रदेश र स्थानीय निर्वाचनपछि महाधिवेशन गर्नु काँग्रेसको हितमा हुने धारणा राखेका थिए । प्रेस युनियन झापा अध्यक्ष इन्दू पूर्वेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका उपसभापतिद्वय राम कट्टेल र देवी राजवंशी, पूर्व उपसभापति देउमान थेबे, सचिवद्वय प्रेम सम्बाहाम्फे र तारावीर कट्वाल, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द्र छेत्री, काँग्रेस झापाका पूर्वसचिवत्रय भगीरथ पोद्दार र भक्ति सिटौला, दयानन्द गोस्वामी, नेपाल महिला सङ्घ झापा सभापति सुशीला ढकाल, १ नम्बर क्षेत्रीय सभापति मणि उप्रेती, कमल गाउँपालिकाका सभापति खगेन भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार