२०८३ बैशाख ४ गते , शुक्रबार

प्रदेश १ : नेपाल खेमा छाडेका साम्सोहाङ र तिवारी बने मन्त्री

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ११ गते , शुक्रबार
प्रदेश १ :  नेपाल खेमा छाडेका साम्सोहाङ र तिवारी बने मन्त्री

झापा । मुख्यमन्त्रीमा नियुक्ति भएको भोलिपल्टै भीमप्रसाद आचार्यले प्रदेश १ सरकारको मन्त्रिपरिषद् विस्तार गरेका छन् ।मुख्यमन्त्री आचार्यले माधवकुमार नेपाल खेमाका दुई जना प्रदेशसभा सदस्यलाई मन्त्री बनाएका छन् ।  उनले ताप्लेजुङका बलबहादुर साम्सोहाङलाई सामाजिक विकास मन्त्री र तेह्रथुमका लछुमन तिवारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा  नियुक्ति गरेका हुन् । 

नवनियुक्त मन्त्रीद्धय साम्सोहाङ र तिवारीलाई शुक्रबार नै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथग्रहण गराएका थिए । तीन जनालाई मन्त्री बनाउने विषयमा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री आचार्यले छलफल गरेपनि एक जनाको नाम टुंगो नलाग्दा दुई जनालाई मन्त्री बनाएका थिए । 

सामाजिक विकास मन्त्री साम्सोहाङ नेकपा एमालेको तर्फबाट ताप्लेजुङ जिल्ला प्रदेशसभा (क) २०७४ को निर्वाचनमा निर्वाचित भएका थिए । उनको जन्म २०२७ साल मंसिर २ गते चाक्सिबोटेमा बाबु जसबहादुर साम्सोहाङ र आमा फिपावती साम्सोहाङको कोखबाट भएको हो । 

स्नातक तहसम्मको अध्यययन गरेका साम्सोहाङ २०३७ सालदेखि राजनीतिमा संलग्न छन् । उनी २०४५ देखि २०५१ सालसम्म अनेरास्ववियु जिल्ला अध्यक्ष, २०५२ सालमा नेकपा एमाले जिल्ला कमिटी सदस्य, त्यसपछि जिल्ला सचिव हुँदै हाल नेकपा (एमाले) जिल्ला कमिटी ताप्लेजुङको अध्यक्ष भए। बलबहादुरसँग २०६४ देखि २०७४ सालसम्म पाथिभरा बहुमुखी क्याम्पसको अध्यक्ष एवं पाथिभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशक भएर काम गरेको अनुभव छ । उनी नेपालनिकट कार्यकर्ता थिए । 

त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री तिवारी तेह्रथुम निर्वाचन क्षेत्र १ अन्तरगत प्रदेश सभा ‘क’ क्षेत्रबाट २०७४ सालमा निर्वाचित भएका थिए । तत्कालिन एमाले जिल्ला अध्यक्ष समेत रहेका तिवारी राजनीति क्षेत्रमा विद्यालयकालदेखि सक्रिय थिए । उनी नेपाल पक्षनिकटका कार्यकर्ता भएर जिल्ला सम्हाल्दै आएका थिए । प्रदेश १ मा मुख्यमन्त्री बनेका आचार्यसहित नियुक्त भएका दुई मन्त्री गरी तीनै जना नेपाल खेमा छाडेर ओली खेमा आएपछि मन्त्री पद पाएका हुन ।


 


सम्बन्धित समाचार