२०८३ बैशाख ४ गते , शुक्रबार

कनकाईका बंगाली समुदायले गर्‍यो मनसादेवीको पूजाअर्चना

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १२ गते , शनिबार
कनकाईका बंगाली समुदायले गर्‍यो मनसादेवीको पूजाअर्चना

झापा । बंगाली समुदायले भदौ महिनाको पहिलो पञ्चमी तिथिलाई विशेष पर्वका रुपमा मनाउँछन् । बंगाली समुदायको परम्परा अनुसार चतुर्थी तिथिदेखि षष्ठी तिथिसम्म तीन दिनलाई विशेष पर्वका रुपमा मनाइन्छ ।

पूजा अर्चनाका साथ भदौ महिनाको चतुर्थी, पञ्चमी र षष्ठी तिथिमा मनाइने यो पर्वलाई बंगाली समुदायले विशेष महत्त्वको पर्वका रुपमा लिने गरेको सो समुदायका अगुवा प्रह्लाद शाह बताउँछन् । माता मनसा देवीको विशेष पूजा अर्चना गरी यो पर्व मनाउने गरिएको शाहको बुझाई छ ।

कनकाई नगरपालिका क्षेत्रमा बसोबास गर्ने बंगाली समुदायले पनि सो विशेष पर्वको अवसरमा शुक्रवार कलश यात्राको आयोजना गरेका छन् । कनकाई नगरपालिका ३ का वडा अध्यक्ष रुद्रप्रसाद चिमरियाले रिबन काटेर कलश यात्राको शुभारम्भ गरिदिएका हुन् । सुरुङ्गास्थित कालिस्थान टोलबाट कलश यात्रा सुरु गरी कनकाई माई नदीमा पुगेर जलार्पण गरी मनसादेवी मन्दिरमा ल्याई चढाइएको थियो ।

मनसा देवीको पूजा अर्चनाबाट दुःख, कष्ट सबै नाश भएर जाने र मानिसका सबै मनोकामना पूर्ण हुने विश्वास गरिएको छ । भदौ महिनाको पहिलो पञ्चमीका दिन हुने मनसा देवीको यो विशेष पूजा अर्चनाका लागि एक दिन अघि चतुर्थीका दिनदेखि नै व्रत बस्ने चलन रहेको बंगाली समाज सेवा समिति कनकाईका अध्यक्ष पङ्कज मण्डलले बताए ।

यो पर्वमा बंगाली समुदायका महिला मात्र होइन पुरुषहरूले समेत व्रत बस्ने र मनसा देवीको विशेष पूजा अर्चना गरी रातभर जाग्राम बस्ने चलन रहेको बंगाली समाज कनकाईका अध्यक्ष मण्डलले जानकारी दिए । दिनभर व्रत बसेका व्रतालुहरूले चामलको पिठोबाट घिउमा पकाइएको विशेष परिकार ९घाटरा पिठा० साथै फलफूलहरू प्रसादको रुपमा खाने चलन रहेको बताइएको छ ।

षष्ठिका दिन बिहान बली पूजा गरेर चेलीबेटी, भान्जा भान्जी, आफन्त, साथीभाइलाई बोलाएर प्रसाद खुवाउने परम्परा रहेको सेवा समिति कनकाईका सचिव रविन मण्डलको भनाई छ । सोही दिन बेलुका मनसा देवीको मूर्ति नदीमा लगेर विसर्जन गरेपछि यो पर्व समाप्त हुने गरेको बताइन्छ ।

२२ वर्ष अघि नै आफ्नो समुदायको संस्कृति साथै भेसभुसाको संरक्षण गर्ने उद्देश्यले बंगाली समुदाय सङ्गठित भए पनि निष्क्रिय रहेकोले समिति पुनर्गठन गरिएको हो । युवा व्यवसायी पङ्कज मण्डलको संयोजकत्वमा कनकाईमा ११ सदस्यीय नयाँ समिति गठन भई सामाजिक क्षेत्रमा गतिविधि गर्दै आएको जनाइएको छ । समितिको उपाध्यक्षमा बिगम मण्डल, सचिवमा रबिन मण्डल, सहसचिव दीपक मण्डल, कोषाध्यक्ष मिना मण्डल रहेका छन् । त्यस्तै सदस्यहरूमा मनोज मण्डल, मनिल मण्डल, सरवन मण्डल, प्रीतम शाह, निर्मला मण्डल र मिना मण्डल रहेका छन् ।

सम्बन्धित समाचार