२०८३ बैशाख ४ गते , शुक्रबार

नेता र कार्यकर्तालाई चिढ्याएर पार्टी मजबुत बन्दैन : कृष्णप्रसाद सिटौला

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १२ गते , शनिबार
नेता र कार्यकर्तालाई चिढ्याएर पार्टी मजबुत बन्दैन : कृष्णप्रसाद सिटौला

झापा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले यो मुलुकमा विभिन्न कालखण्डमा अनेक प्रकारका राजनीतिक परिवर्तन भए पनि नेतृत्व गर्ने व्यक्तिहरूमा आचरणको परिवर्तन नभएको टिप्पणी गरेका छन् । 

झापाको मेचीनगरस्थित बाहुनडाँगीमा आयोजित कार्यक्रममा बोल्दै पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका सिटौलाले अब हरेक व्यक्तिमा संस्कार, आचरण,बानी ब्यहोरामा परिवर्तनको खाँचो औँल्याएका छन् ।  लामो सङ्घर्ष र वीर शहीदहरूको बलिदानबाट यो मुलुकको राजनीतिक परिवर्तन भएको स्पष्ट पादै नेपाली काँग्रेसका पूर्व महामन्त्री सिटौलाले सघर्षको सफलता पछि देशमा परिवर्तन भए पनि नेतृत्व गर्ने व्यक्तिहरूको आचरण र संस्कारमा परिवर्तन नभएकै कारण यो मुलुक र मुलुकवासीले अनेक खालका समस्या व्यहोर्नु परेको बताए । 

हिजो राज्य परिवर्तनका लागि सघर्षमा उत्रिनेहरूलाई दलबाट बाहिर राख्ने प्रवृत्तिले हरेक सहिद परिवारमा निराशा पैदा भएको उनको आरोप छ । अहिले हरेक राजनीतिक दलमा धनाढ्य व्यक्तिहरूको हालीमुहाली चल्ने र यसले गर्दा पार्टीका लागि सर्वस्व दिने कार्यकर्ताहरूमा नैराश्य पैदा हुने नेता सिटौलाको भनाई छ । यस कारण पनि राजनीतिक परिवर्तन भए झैँ हरेक व्यक्तिहरूले इमानदारीपूर्वक संस्कार र आचरणमा पनि परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए।

पार्टीको १४ औं महाधिवेशनका बारेमा बोल्दै नेता सिटौलाले पार्टीभित्र अनेक खालका विवाद भए पनि महाधिवेशनको विकल्प नरहेको बताए। नेपाली काँग्रेसभित्रको विवाद आफ्नै घरभित्रको आन्तरिक झगडा भएकाले यसलाई मिलाएर अघि बढ्न उनले जोड दिए । पार्टीका नेता र कार्यकर्तालाई चिढ्याएर पार्टी मजबुत नहुने भन्दै उनले अब पार्टीले हरेक क्षेत्रका विभिन्न विधाका मानिसलाई समेट्नुपर्नेमा जोड दिएका छन्।

अहिले नेपाली काँग्रेसको नेतृत्वमा सरकारले भए पनि नेपाली जनताले खासै ठुलो अपेक्षा नराखेको भन्दै नेकपा एमाले नेतृत्वमा रहेको सरकारको भन्दा यो सरकारले फरक काम गरेर जनतालाई सरकार छ भन्ने अनुभूति गराउनु महत्त्वपूर्ण काम रहेको उनको भनाई थियो । अहिलेको सरकारले आम नागरिकका लागि कोभिड विरुद्धको खोप सहज रुपमा उपलब्ध गराउनु, अस्पतालमा औषधि, बेड, आइसियु, भेन्टिलेटर अक्सिजन सजिलै उपलब्ध गराउनु नै मुख्य काम रहेको बताए ।

कम्युनिस्ट सरकारले आफ्नै नेतृत्वमा चुनाव गराउने सोच बनाएको र निर्वाचनको परिणाम आफ्नै पक्षमा पार्ने सपना देखे पनि त्यो पुरा नभएको भन्दै नेपाली काँग्रेस नेतृत्वको सरकारले कम से कम चुनाव गराउन सफल बनोस् बनेर उनले शुभकामना समेत दिए । कम्यूनिष्टहरुले चुनावताका एउटा कुरा गर्ने र नेतृत्व हात पारेपछि अर्के कुरा गर्ने परिपाटीले नेपाली जनता आजित भइसकेको भन्दै अब काँग्रेसले जे बोल्छ त्यही गरेर देखाउने वेला आएको उनले बताए । हरेक कुरामा प्रतिस्पर्धा हुने भन्दै नेता सिटौलाले एकतालाई ध्यानमा राखेर काम गरे कुनै समस्या नहुने उनको तर्क थियो ।

सम्बन्धित समाचार