२०८३ बैशाख ४ गते , शुक्रबार
कचनकवलमा काँग्रेसका सक्रिय सदस्य भन्छन्- 'हामी राप्रपा गएका होइनौँ, हल्ला निराधार'
झापा । नेपाली काँग्रेस कचनकवल गाउँपालिका-२ निवासी तीन जना क्रियाशील सदस्यहरूले राप्रपा नेता राजेन्द्र लिङ्देनले आफूहरूलाई राप्रपामा प्रवेश गराएको हल्ला निराधार रहेको प्रस्ट पारेका छन् । एक दशकयता निरन्तर नेपाली काँग्रेसमा रहेर सक्रिय रहेका गोपालसिंह राजवंशी, तिन तालु राजवंशी र डुमनसिंह राजवंशीले आफ्नो टोलको बाटो स्तरीकरणका लागि भन्दै भेला भएका स्थानीयहरूसित सामूहिक फोटो खिचेर राप्रपा प्रवेश गरेको हल्ला फिँजाएको भन्दै खण्डन गरेका हुन् ।
नेपाली काँग्रेसका अग्रज कार्यकर्ता समेत रहेका गोपालसिंह राजवंशीका अनुसार भदौ १० गते कचनकवल २ स्थित डाँडा गाउँ टोलमा आएका सङ्घीय सांसद समेत रहेका राप्रपा नेता लिङ्देनले टोलवासीसित छलफल गर्ने क्रममा राप्रपामा टोलवासी प्रवेश गरे सडक मर्मत तथा कल्भर्ट निर्माण गरिदिने भन्दै केही व्यक्तिलाई अबिर लगाएर सदस्यता बाँडेका थिए । उनका अनुसार सडक समस्या हल गर्न गएका काँग्रेसप्रति प्रतिबद्ध आफूहरूको नाम समेत जोडेर राप्रपा प्रवेश गरेको भ्रम लिङ्देनले सञ्चार माध्यमबाट छरेकाले खण्डन गर्नु परेको हो ।
यस्तै तिन तालु राजवंशी आफूहरू कचनकवलको विकास र समृद्धिका लागि काँग्रेसमा रहेर सङ्घर्ष गरिरहेको बताउँदै राप्रपाले विकासमा विभेद गर्दा कचनकवल-२ का स्थानीय प्रताडित भएको बताउँछन् । उनका अनुसार कचनकवल-२ मा काँग्रेस र एमालेको वर्चस्व रहेकै कारण गाउँपालिकाको बहुमत सहित नेतृत्वमा रहेको राप्रपाले सडक, पुल,पुलेसा जस्ता नागरिकसित गाँसिएका विकासका आधारभूत पूर्वाधारमा विभेद सिर्जना गरेर अन्याय गरिरहेको छ ।
त्यस्तै डुमनसिंह राजवंशी राजेन्द्र लिङ्देनले आफ्नो संसद्सित गाँसिएको पूर्वाधार विकास कोष मार्फत आफ्नो वडामा एक रूपैया पनि लगानी नगरेको भन्दै भ्रम छर्न सिधासादा नागरिकलाई सडक, पुल, कल्भर्ट बनाइ दिने आश्वासनमा पार्टी प्रवेशका लागि दबाब दिइरहेका छन् । त्यसैगरी कचनकवल-२ का वडा सदस्य धनबहादुर गुरुङ कचनकवल-२ लाई विकसित हुन नदिन गाउँपालिका नेतृत्वले विभेद गरेको बताउँछन् । उनका अनुसार सो वडामा राप्रपाको प्रभाव न्यून रहेका कारण सङ्घीय संसद् राजेन्द्र लिङ्देन मार्फत आउने बजेट तथा गाउँपालिकाको बजेट नेतृत्वले न्यून दिँदा सडक, कल्भर्ट, पैनीका समस्या हल हुन सकेका छैनन् ।
नेपाली काँग्रेसका महासमिति सदस्य भूमिप्रसाद राजवंशी, क्षेत्रीय सचिव गीताप्रसाद भट्टराई, क्षेत्रीय प्रतिनिधि हर्कबहादुर लिम्बू लगायतले राप्रपाले कचनकवलमा प्रतिशोध र विभेदको राजनीति गरेर विकृति फैलाइरहेको आरोप समेत लगाएका छन् ।