सत्ता गठबन्धनमा भागबण्डा नमिल्दा बिनानिष्कर्ष सकियो बैठक
झापा । सत्तारुढ गठबन्धनको बैठक सकिएको छ। मन्त्रिपरिषदलाई पूर्णता दिने भनिए पनि दलबीच सहमति जुट्न नसकेपछि बिनानिष्कर्ष बैठक टुंगिएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेताहरुबीच मंगलबार बिहान झण्डै दुई घण्टा छलफल भएको नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य डा। वेदुराम भुषालले जानकारी दिए। केही दिनदेखि सरकार विस्तार र मन्त्रालय बाँडफाँटबारे छलफलमा व्यस्त रहेको गठबन्धनले आज पनि थप छलफल गरेको उनले बताए।
छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी ९जसपा० अध्यक्ष उपेन्द्र यादवलगायतको सहभागिता रहेको थियो। गठबन्धनमा आवद्ध दलबीच आज मन्त्रालयको भागबण्डा टुंग्याउने र भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ। मन्त्रालयको भागबण्डा टुंग्याउन गठबन्धनबीच आज दिउँसो पनि छलफल गर्ने बताइएको छ।
एकीकृत समाजवादी दल दर्ता भएपछि पहिलोपटक सोमबार गठबन्धनको औपचारिक बैठक बसे पनि केही दिनदेखि अनौपचारिक छलफलहरु जारी थिए। अहिले गठबन्धनमा आवद्ध दलहरुबीच महत्वपूर्ण मन्त्रालयको बाँडफाँट, मन्त्रालयको संख्यालगायतका विषयमा कुरा मिलिसकेको छैन। गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चा छन्।
सरकार गठन भएको लामो समय वितिसक्दा समेत मन्त्रिपरिषद् विस्तार नहुँदा प्रधानमन्त्री देउवाले आलोचना खेपिरहेका छन्। हाल कांग्रेसलाई ७, माओवादी केन्द्रलाई ६, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई ४र४ वटा मन्त्रालयको सहमति जुटाउने प्रयास भइरहेको छ। तर, नेपाल नेतृत्वको एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा यातायातसहित ६ वटा मन्त्रालयमा दाबी गरेको बताइएको छ। त्यस्तै, जसपाले पनि मन्त्रालय बाँडफाँट समान हुनुपर्ने अडान राखिरहेको छ।
त्यसो त दलहरुबीच सहमति जुटाउन सरकारमा सहभागी हुने दलभित्र उपप्रधानमन्त्री राख्नुपर्छ भन्ने विषयमा कुरा उठेको नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताएका छन्। ‘सरकारमा आफ्नो दलको तर्फबाट फलानोले नेतृत्व गरेर जाने भनिरहँदा उपप्रधानमन्त्रीसहित भन्ने स्वभाविक हुन्छ‚’ उनले भने‚ ‘तर, प्रधानमन्त्रीले के चाहनुहुन्छ भन्नेमा भर पर्छ।’ सो अवस्थामा सरकारमा सहभागी हुने माओवादी, एकीकृत समाजवादी र जसपा गरी तीन जना उपप्रधानमन्त्री हुने सम्भावना छ। थाहाखबरबाट