२०८३ बैशाख ४ गते , शुक्रबार

भदौ १९ देखि झापामा कांग्रेसको महाधिवेशन

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १५ गते , मंगलबार
भदौ १९ देखि झापामा कांग्रेसको महाधिवेशन

झापा । नेपाली कांग्रेस झापाले जिल्ला अधिवेशन यही भदौ १९ गते वडा अधिवेशनबाट प्रारम्भ गर्ने भएको छ । केन्द्रबाट खटिएर झापामा आएका निर्वाचन अधिकृत सुबोधबाबु चिलवालको प्रमुख आतिथ्य र जिल्ला सभापति उद्धव थापाको सभापतित्वमा मङ्गलवार बसेको विस्तारित बैठकले १८ गते देशव्यापी वडा अधिवेशन तोकिए पनि आन्तरिक व्यवस्थापनका लागि समय अपुग भएपछि १९ गतेबाट प्रारम्भ गर्ने निर्णय गरेको हो ।

जिल्ला कार्यसमिति, सङ्घीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, गाउँ/नगरका सभापतिहरूको सहभागितामा भएको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो ।बैठकमा निर्वाचन अधिकृत चिलवालले निर्वाचन निर्देशिकामा भएका व्यवस्था, कार्यविधि, विधानको व्याख्या गर्दै सहभागीहरूबाट उठेका जिज्ञासाको जवाफ दिएका थिए ।

सहमति, सहकार्य र एकता प्रदर्शन गर्दै झापाको निर्वाचन उदाहरणीय बनाउन आग्रह गरेका चिलवालले निर्वाचनका लागि भएको प्रतिस्पर्धालाई गुटगत राजनीतिमा परिणत नगरी सङ्गठन बलियो बनाउन आग्रह समेत गरे । पार्टी सभापति थापाले निर्वाचन आचारसंहिता, मतदान अधिकृतको काम कर्तव्य, जिम्मेवारीका विषयमा प्रकाश पारेका थिए । नेपाली कांग्रेस झापाका प्रचार विभाग प्रमुख कृष्ण हुमागाईँले वडाबाट निर्वाचित हुने क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति गठनका विषयमा कार्यविधिमा भएको समावेशी सहभागितासहितको मापदण्डबारे जानकारी दिएका थिए ।

यसैबिच नेपाली कांग्रेस झापाको विभिन्न तहको निर्वाचनमा डेमोक्रेटिक लयर्स एसोसिएसन, नेपाल प्रेस युनियन र नेपाल शिक्षक सङ्घ आबद्ध पदाधिकारी/सदस्यहरूलाई निर्वाचन/मतदान अधिकृतको रुपमा केन्द्रीय निर्देशन अनुरूप खटाइने भएको छ । साझेदार संस्थाहरूबिच मङ्गलवार वडा अधिवेशनबारे छलफल भएको हो । निर्वाचन समितिले १३१ वडाकै मतदान अधिकृतलाई १८ गते नै सम्बन्धित वडामा पठाउने र निर्वाचन प्रक्रियामा कोभिड–१९ लाई ध्यानमा राखेर सुरक्षाका सम्पूर्ण उपायलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको छ ।

सम्बन्धित समाचार