१० सांसदले रोजे एकीकृत समाजवादी, एक साता नबित्दै प्रदेश १ का मुख्यमन्त्री आचार्य अल्पमतमा
झापा । नेकपा एमालेका सचिव भीम आर्चायको नेतृत्वमा बनेको प्रदेश १ सरकार ६ दिनमै अल्पमतमा परेको छ। माधव नेपाल खेमा छाडेर केपी ओली खेमामा लागेका आचार्य १० भदौमा प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका थिए। नेकपा एमाले औपचारिक रूपमा विभाजन भएसँगै निर्वाचन आयोगले भदौ २२ गतेसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधि दल रोज्ने समय दिएको थियो।
सोअनुसार प्रदेश १ का १० सांसदले बुधबार एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी रोजेपछि प्रदेश १ सरकार ६ दिनमै अल्पमतमा परेको हो। अल्पमतमा परे लगत्तै मुख्यमन्त्री आचार्यले आफु रहरले मुख्यमन्त्री नबनेको बताएका छन् । यसैबीच प्रदेश नं १ मा नेकपा एमालेका १० जना सदस्य नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । उनीहरुले आज प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका हुन् ।
प्रदेशसभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य राजेन्द्र राईको नेतृत्वमा सनाखत गर्नेमा राजन राई, गणेशकुमार काम्बाङ्ग, सरिता थापा, सावित्रादेवी रेग्मी, खिनु लङ्वा (लिम्बू) पदमकुमारी गुरुङ, सुनिताकुमारी चौधरी, उपेन्द्रप्रसाद घिमिरे र कृष्णकुमारी राई रहेका छन् ।
सनाखत कार्य यही भदौ २२ गते ५ बजेसम्म हुने र त्यससम्बन्धी सम्पूर्ण कागजात केन्द्रीय निर्वाचन आयोगमा पठाउने प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिए । सो अवसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेकपा एकीकृत समाजवादी नेता राजेन्द्र राईले वर्तमान सरकार अल्पमतमा परेकाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए।
उनले भदौ २२ गतेसम्म थप सातदेखि आठ जना सदस्यले नेकपा ९एकीकृत समाजवादी० मा आउने दाबी गर्दै भदौ २३ गतेपछि सरकार निर्माणको प्रक्रिया सुरु गरिने जानकारी दिए। नेता राईले प्रदेशका गठबन्धन दलबीचको आपसी सहमतिमा मुख्यमन्त्री चयन गरिने भएकाले सङ्घीय सरकारको कुनै हस्तक्षेप नहुने बताए। सनाखत कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्तामा ठूलो समूह उपस्थित थियो ।