राजस्थान रोयल्सले लखनउलाई ४० रनले हरायो
इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्समाथि ४० रनको सहज जित दर्ता गरेको छ। बुधबार राति लखनउमा भएको खेलमा राजस्थानले दिएको १६० रनको लक्ष्य पछ्याएको घरेलु टोली १८ ओभरमा ११९ रनमा समेटिएको हो।
लखनउलाई सस्तैमा समेट्न राजस्थानका बलरले कसिलो बलिङ गरे। टस जितेर पहिले ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनाएको थियो। राजस्थानका लागि रवीन्द्र जडेजाले विस्फोटक ब्याटिङ गर्दै २९ बलमा अविजित ४३ रन जोडेका थिए।
मध्यम लक्ष्य पछ्याएको लखनउका लागि मिचेल मार्सले ५५ रनको अर्धशतकीय पारी खेले पिन अन्य कुनै पनि व्याट्सम्यान टिक्न सकेनन्। १८औँ ओभरमा अन्तिम विकेट गुमाउँदा लखनउ ११९ रनमा सीमित भयो।
राजस्थानको जितमा अलराउन्डर रवीन्द्र जडेजा नायक बने। ब्याटिङमा ४३ रनको योगदान दिएका जडेजाले बलिङमा चुस्त प्रदर्शन गर्दै ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए। उनी खेलको ‘प्लेयर अफ द म्याच’ समेत चुनिए।
यो जितसँगै राजस्थान रोयल्स अंक तालिकाको दोस्रो स्थानमा यथावत छ भने लखनउ सुपर जाइन्ट्स नवौँ स्थानमा झरेको छ।