झलनाथको गृहजिल्ला इलामका ५७ जनप्रतिनिधिले समाजवादी रोजे
इलाम । पूर्व प्रधानमन्त्री झलनाथ खनालको जिल्ला इलाममा ५७ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्। आज सूर्योदय नगर प्रमुख रणबहादुर राई, जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराइली, माईजोगमाई गाउँपालिका अध्यक्ष जीतबहादुर राईसहित ५७ जनप्रतिनिधिहरूले समाजवादीमा सनाखत गरेका हुन्।
एकीकृत समाजवादी रोज्नेमा सबैभन्दा धेरै सूर्योदय नगरपालिकाका जनप्रतिनिधि रहेका छन्। सूर्योदयमा उपप्रमुख र एक वडाध्यक्ष बाहेक सबैले एकीकृत समाजवादी रोजेका छन्। १४ वटा वडा रहेको सूर्योदयमा तत्कालिन एमालेले प्रमुख र उपप्रमुखसहित १० वटा वडामा जितेको थियो। जसमध्ये ९ वडाध्यक्षले एकीकृत समाजवादी रोजेका हुन्।त्यस्तै चार जना कार्यपालिका सदस्य र २९ जना वडा सदस्यले एकीकृत समाजवादी रोजेका हुन्। पूर्वप्रधानमन्त्री खनालको बलियो क्षेत्र मानिएको सूर्योदयका झण्डै ८० प्रतिशत जनप्रतिनिधिहरु एकीकृत समाजवादीमा लागेका छन्। त्यस्तै माईजोगमाई गाउँपालिकाका अध्यक्षसहित एक वडा अध्यक्ष र ७ जना एकीकृत समाजवादीमा लागेका छन्।
६ वटा वडा रहेको माईजोगमाईमा तत्कालिन एमालेले अध्यक्ष उपाध्यक्षसहित ४ वटा वडामा जितेको थियो। अन्य जनप्रतिनिधि एमालेमै रहेका छन्। त्यस्तै सन्दकपुर गाउँपालिकाबाट वडा सदस्य हरि लुङ्गेली र देउमाई नगरपालिका–९ बाट वडा सदस्य हेमराज लिम्बूले एकीकृत समाजवादी रोजेका हुन्। एमाले विभाजन हुनुपूर्व माधव–झलनाथ समूहमा रहेका सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राई भने पार्टी विभाजनपछि एमालेमै रहेका छन्।
त्यस्तै इलाम नगरपालिका, माई नगरपालिका, चुलाचुली गाउँपालिका फाकफोकथुम गाउँपालिका र रोङ गाउँपालिकाबाट निर्वाचित सबै जनप्रतिनिधि एमालेमै रहेका छन्। भोलि ३० भन्दा बढीले समाजवादीको पक्षमा सनाखत गर्ने सो पार्टीले दाबी गरेको छ। नयाँ दलमा सनाखत गर्ने भोलि अन्तिम दिन हो। थाहाखबरबाट