नीतिगत भ्रष्टाचार र बेरुजुविरुद्ध कचनकवलमा विप्लवनिकट युवा सङ्गठनको विरोध प्रदर्शन
झापा । नेत्र चन्द विक्रम
'विप्लव' नेतृत्वको नेकपानिकट युवा सङ्गठन नेपालले दक्षिणी झापाको कचनकवलमा नीतिगत भ्रष्टाचार र आर्थिक बेरुजुविरूद्व मंगलबार प्रदर्शन गरेको छ ।
जिल्लाका स्थानीय तहहरूमध्ये सबै भन्दा बढी बेरुजु रकम कचनकवल गाउँपालिकामा देखिएको भन्दै विप्लव नेतृत्वको युवा सङ्गठन नेपालले विरोध प्रदर्शन गरेको हो । देशव्यापी कार्यक्रमको तालिका अनुसार युवा सङ्गठनमा आबद्ध कार्यकर्ताहरूले कचनकवल- ६ स्थित बनियानी चोकमा रहेको गाउँपालिका कार्यालय अगाडी कालो ब्यानरसहित नारा जुलुस प्रदर्शन गरेका थिए । गाउँपालिकाको मुख्य प्रवेशद्वारबाट सुरु भएको विरोध र्याली बनियानीको मुख्य चोकबाट बजार परिक्रममा गर्दै पुनः गाउँपालिकाको गेट अगाडी आएर कोणसभामा परिणत भएको थियो।
विरोध र्यालीमा भ्रष्ट जनप्रतिनिधि मुर्दावाद, भ्रष्टाचारीलाई कारबाही, राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर, जयसिंहको हत्याको विषयमा उचित छानबिन गर जस्ता नारा लगेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी झापाका सचिव तारा थापा (प्रशान्त)ले
जनतालाई झुटो आश्वासन दिएर चुनाव जितेकाहरूले आज आएर घात गरेको भन्दै भ्रष्ट जनप्रतिनिधि र कर्मचारीलाई पार्टीको नेतृत्वमै झापाली जनताले जनकारबाही गर्ने चेतावनी दिएका छन् ।
भ्रष्टाचारमा लिप्त भएर जनताले तिरेको करलाई दुरुपयोग गर्नेहरू कारबाहीको भागेदार रहेको भन्दै उनले भने, २० हजारको जुत्ता नभएर पाँच रुपैयाँका टीका बन्न जनप्रतिनिधिहरूलाई सुझाव दिन चाहन्छु । त्यस्तै कोणसभामा बोल्दै युवा सङ्गठन नेपाल झापाका संयोजक किशोर बस्नेत (विज्ञान)ले भ्रष्ट जनप्रतिनिधिहरूलाई जुनसुकै हालतमा जनकारबाही गर्ने बताए ।
विरोध कार्यक्रम पश्चात् कार्यकर्ताले गाउँपालिकाको मुख्य प्रवेशद्वारमै कालो ब्यानर टाँस गरेका थिए । जिल्लाका १५ पालिकामध्ये सबैभन्दा बढी बेरुजु देखिएको पालिकामा कचनकवल गाउँपालिका रहेको महालेखा परीक्षकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन उल्लेख छ । गाउँपालिकाको कूल लेखा परीक्षण रकम एक अर्ब १९ करोड ४३ लाख ९५ हजारको ६।०६ प्रतिशत अर्थात् सात करोड २३ लाख २१ हजार बेरुजु देखिएको छ ।