२०८३ बैशाख १० गते , विहीबार
कांग्रेस अधिवेशन : बिर्तामोडमा सिटौला र सङ्ग्रौला छुट्टाछुट्टै प्यानल चुनावी मैदानमा
झापा । भदौ १८ गतेदेखि नेपाली कांग्रेसको १४औ महाधिवेशन सुरु भएको छ । २१ जिल्ला बाहेकका अन्य जिल्लामा वडा तहको नेतृत्व चयन भएको छ । वडा अधिवेशन सम्पन्न सँगै नगर अधिवेशनका लागि कांग्रेस नेताहरूको अहिले दौडधुपमा छन् ।
‘नेपाली कांग्रेस निर्देशिका २०७८’ बमोजिम हुने निर्वाचन तालिका अनुसार भदौ २७ गते नगर अधिवेशन हुँदैछ । जसका लागि झापाका १५ वटै स्थानीय तह तथा निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता चुनावी दौडमा देखिएका छन् ।
बिर्तामोड नगर अधिवेशनका लागि छुट्टाछुट्टै दुई वटा टिम खडा भएका छन् । नगर सभापति तथा बिर्तामोड–३ का वडाध्यक्ष भोजराज सिटौला र वडा नम्बर–४का वडाध्यक्ष कुलप्रसाद सङ्ग्रौलाले छुट्टाछुट्टै टिम खडा गरेसँगै बिर्तामोडमा चुनावी सरगर्मी बढेको हो ।
बिर्तामोड–४का वडाध्यक्ष कुलप्रसाद सङ्ग्रौलाले नगर सभापतिका लागि छुट्टै टिम खडा गर्दै चुनावी मैदानमा उत्रिएपछि बिर्तामोडको माहौल तातेको हो । यस अघि सिटौलाले नगर सभापतिको दाबी गर्दै आएका थिए । सङ्ग्रौलाको टिमबाट उपसभापतिमा बलराम कार्की र पशुपति राजवंशी, सचिव अच्युत दाहाल, दीपेन्द्र राउत तथा सहसचिवमा धर्मचन्द्र सिटौला र अमोद दाहाल चुनावी मैदानमा छन् । विभिन्न १० बुँदे कार्य योजना अघि सार्दै सङ्ग्रौला नेतृत्वको टिम चुनावी मैदानमा छ ।
यता सिटौलाको टिममा उपसभापतिमा सूर्यप्रसाद कन्दङ्वा, राजकुमार राजवंशी, सचिव उत्तम खनाल, दिवाकर प्रसाईँ, सहसचिव लवकुमार चौधरी र दिनेश पराजुली रहेका छन् ।