२०८३ बैशाख १० गते , विहीबार
एमसीसी राष्ट्रघाती भन्दै झापाको सदरमुकाममा ‘विप्लव’ नेकपाको विरोध प्रदर्शन
झापा । नेत्र चन्द विक्रम ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रघाती अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध झापामा विरोध प्रदर्शन गरेको छ । ‘विप्लव’ नेतृत्वको नेकपाको पूर्वघोषित कार्यक्रम अनुसार नेकपा जिल्ला कार्य समिति झापाले शुक्रबार जिल्लाको सदरमुकाम भद्रपुरमा राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध विरोध प्रदर्शन गरेको हो ।
नेपाल विद्युत् प्राधिकरण अगाडी भेला भएका नेकपाका कार्यकर्ताहरूले शान्तिपूर्ण र्याली प्रदर्शन गर्दै राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, राष्ट्रिय स्वाधनिताको रक्षा गर, दलाल सरकार मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दाबाद जस्ता नाराबाजी गरेका थिए ।
प्राधिकरण अगाडीबाट सुरु भएको र्याली सदरमुकामको सरकारी कार्यालय हुँदै लेखनाथ चोक, चन्द्रगढी बजार परिक्रममा गर्दै कृषि बैङ्क अगाडी आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभा बोल्दै नेकपाका जिल्ला सचिव तारा थापा (प्रशान्त)ले एमसीसी राष्ट्रघाती सम्झौता भएको भन्दै यसकोविरुद्ध सबै जनता सडकमा उत्रिनु पर्ने बताए । देशका नेताहरूलाई राष्ट्रको ढुकुटी लुटेर नपुगेको आरोप लगाउँदै उनले भने, ‘जनताबाट चन्दा सङ्कलन गरेर नेतालाई सहयोग गरौँला, तर राष्ट्रघाती सम्झौता कुनै पनि हालतमा गर्न दिँदैनौँ ।’ राष्ट्र जनजागरण मञ्च नेपालका केन्द्रीय संयोजक सुरेन्द्र कार्कीले समाजवाद र प्रजातन्त्रको नारा लगाएर सरकारमा गएको काँग्रेस आज सत्तामा पुगेपछि देश बेच्न लागी परेको आरोप लगाए ।
उनले एमसीसी सम्झौता इष्टइण्डीया कम्पनीको नमुना रहेको भन्दै अमेरिकाले नेपालको सार्वभौम सत्तामाथि हस्तक्षेप गर्न लागि परेको उल्लेख गरे । यता एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली बिहीबार काठमाडौँ आएका छन् ।
टोलीले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), जसपा अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई लगायतका नेताहरूसँग छुट्टाछुट्टै भेटघाट गरी नेपालमा एमसीसी सम्झौता अनुमोदनका छलफल गरेका थिए ।