२०८३ बैशाख ४ गते , शुक्रबार
बिर्तामोडको एक घरबाट १० लाख चोरी, दुई जना धनकुटाबाट पक्राउ
झापा । बिर्तामोडका विकास श्रेष्ठको कोठाबाट नगद चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–५ मा डेरा गरी बस्ने श्रेष्ठको कोठाबाट दराज फोरेर नगद १० लाख ५० हजार रुपैयाँ चोरी गर्ने इलाम माई नगरपालिका– ४ बस्ने २८ वर्षीय कुमार मगरलाई धनकुटाबाट पक्राउ गरी बिर्तामोड ल्याइएको छ । श्रेष्ठको कोठाबाट मगरले असोज १ गते चोरी गरेका थिए ।
चोरी गरी फरार रहेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय अनारमनिमा जाहेरी दिएका थिए । सोही क्रममा खोजी गर्दा धनकुटाबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो । धनकुटाको सहिदभुमी गाउँपालिका ७ बस्ने ४८ वर्षीया साबित्रा मगरको साथबाट चोरी गरेको नगद रकम ३ लाख ३५ हजार र चोरी गर्ने कुमार मगरको साथबाट ६३ हजार फेला पारी दुवैलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि बिर्तामोड ल्याइएको छ । जिल्ला अदालत झापा मार्फत म्याद थप भई अनुसन्धान कार्य सुरु गरिएको अनारमनि प्रहरीले जनाएको छ ।