२०८३ बैशाख १० गते , विहीबार
मेचीनगर काँग्रेस सभापति पदमा कसले मार्ला बाजी ?
झापा । काँग्रेस मेचीनगर सभापतिका लागि मेचीनगरका दुई वडाध्यक्षबिच आज ९आइतबार० चुनावी भिडन्त हुँदैछ । सर्वसम्मत सभापति छान्नका लागि नेतृत्वले अन्तिम घडीसम्म प्रयास गरे पनि सफल हुन सकेन । नेताहरूले मेचीनगरमा गुटको अवस्था नरहने भनेर दाबी गरेता पनि अन्ततः पार्टी नेतृत्व सफल हुन सकेन ।
पार्टीमा झापाली नेताहरु कृष्णप्रसाद सिटौला तथा विश्वप्रकाश शर्मा पक्षका उम्मेद्वारहरु चुनावी मैदानमा आ–आफ्नो पक्षमा मत माग्न व्यस्त देखिन्थे । निर्वाचन स्थलमा गुटगत चियोचर्चा तथा समूहगत भेला खुलेर भएको देखिन्थ्यो । काँग्रेस झापाको राजनीतिक वृत्तमा देखिएका तिनै दुई वटा गुटको प्रतिनिधित्व गर्दै दुई वडाध्यक्ष चुनावी मैदानमा छन् । एक जानकार नेताका अनुसार सर्वसम्मत सभापति छान्नका लागि नेतृत्वले विगतको मूल्याङ्कन, जिम्मेवारी, भूगोलका आधारमा आकाङ्क्षीहरूमा सहमति खोज्ने प्रयास गरेता पनि सबै सहमत हुन नसक्दा चुनावमा जानु परेको सुनाए ।
छलफलमा सहभागी ती नेताले पछिल्लो समय गुटको राजनीति हाबी हुन खोजे पनि आम नेता तथा कार्यकर्ताको भावना तथा पार्टी नेतृत्वको पहल अनुसारकै नतिजा आउनेमा आँफूहरु ढुक्क रहेको दाबी गरे । शनिवार धुलाबारी माविमा रहेको मतदान केन्द्रमा पुगेर निर्वाचन समिति समक्ष दुई युवा नेताहरु वडा नम्बर ४ का अध्यक्ष नवीन बराल र वडा नम्बर १० का अध्यक्ष सुदय पनेरुले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । चुनाव जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ भन्ने प्रश्नमा दुवै उम्मेद्वारहरुले आ आफ्नै पक्षमा दाबी पेस गरेका छन् । सभापतिमा दाबेदारी पेस गरेका नवीन बरालले आँफुले ७५-२५ प्रतिशतको अनुपातमा मत प्राप्त गर्ने दाबी गरे ।
उता सभापतिका अर्का उम्मेदवार सुदय पनेरुले आफ्नो पक्षमा ७०-३० प्रतिशतको अनुपातमा नतिजा आउने दाबी गरे । कसले बाजि मार्छ त्यो थाहा पाउन भने अझै केही समय पर्खनु पर्ने अवस्था छ । शनिवार दिउँसो १२ देखि २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको थियो ।जस अन्तर्गत दुई सभापति, चार उपसभापति, चार सचिव तथा पाँच सहसचिवमा उम्मेदवारी दर्ता भएका थिए । उपसभापतिमा धनकाजी खत्री, योगेन थापामगर, सन्दीप ओली र राजु अधिकारीले चुनावी प्रतिस्पर्धा गर्दैछन् ।
उपसभापतिमा उम्मेदवारी दिएका खत्री र थापामगरले सभापतिमा बराललाई समर्थन गर्दा उनीहरूलाई उपसभापतिमा सर्वसम्मत बनाउने प्रयास नेताहरूको थियो । तर, सभापतिमा देखिएको गुटको राजनीतिको असर अन्य पदहरूमा समेत देखियो फलस्वरूप अन्य पदमा समेत उम्मेदवारी बढ्ने क्रममा देखियो । त्यस्तै, सचिवमा मनोज घिमिरे, अशोक राई, मुकेश लिम्बू र लक्ष्मी काफ्लेको उम्मेदवारी परेको छ । सहसचिवमा विजय भट्टराई, लोकेन्द्र थपलिया, चन्दन गौतम, टिकाराम धमला र नवीन खतिवडाबिच प्रतिस्पर्धा हुँदैछ । काँग्रेस विधान अनुसार एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव रहने व्यवस्था छ ।
केही उम्मेद्वारहरुले भने आफूहरू कुनै गुटको नभई लोकतान्त्रिक अभ्यासमा सहभागी हुँदै उम्मेदवारी दिएको र सच्चा कार्यकर्ताहरूको मत आफूहरूले प्राप्त गर्ने विश्वाससमेत उनीहरूले लिएका छन् । त्यसैगरी, सदस्यतर्फ खुलामा एक महिलासहित प्रत्येक वडाबाट ६ जनाका दरले कुल ४५ जना, सदस्य खस आर्य तथा आदिवासी जनजातितर्फ ६ महिलासहित १३-१३ जना, दलिततर्फ एक महिलासहित २ जना, मधेसीतर्फ १ महिलासहित २ जना तथा क्षेत्रीय प्रतिनिधि (अपाङ्ग) तर्फ एक महिलासहित २ जना रहने व्यवस्था छ ।
जसमा सदस्यतर्फ ७६ जनै सर्वसम्मत चयन भई सकेका छन् । थप दुई क्षेत्रीय प्रतिनिधि अपाङ्ग कोटाबाट सर्वसम्मत चयन भए । मतदान अहिले बिहान ८ बजेदेखि १ बजेसम्म हुनेछ । सो लगत्तै मतगणनाको समय तालिका तय गरिएको निर्वाचन समितिले जनाएको छ ।