२०८३ बैशाख १० गते , विहीबार

एमाले दक्षिणपन्थीहरूको झुन्ड’ : झाँक्री

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १७ गते , आईतबार
एमाले दक्षिणपन्थीहरूको झुन्ड’ : झाँक्री
झापा । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेकपा एमाले दक्षिणपन्थीहरूको झुन्डमा परिणत हुने बताएकी छन् । शनिवार (हिजो) साँझ झापाको चारआलीमा पार्टीका कार्यकर्ताहरूसँगको भेटघाटका क्रममा पार्टी सचिव झाँक्रीले यस्तो बताएकी हुन् ।

‘ओलीले नेतृत्व गरेको एमालेले नेपालको कम्युनिस्ट आन्दोलनको उद्देश्य, कार्यक्रम र त्यसको कार्यदिशा बोकेर नेपाली जनताहरूको सपनालाई साकार पार्छ भन्ने लाग्दैन’ नेतृ झाँक्रीले भनिन्, ‘त्यो एक प्रकारको दक्षिणपन्थीहरूको झुन्डको रुपमा परिणत हुँदैछ ।’ एमालेको जारी विधान महाधिवेशनलाई लक्षित गर्दै उनले भनिन्, ‘यसको ज्वलन्त उदाहरणका रुपमा काठमाडौँमा भएको विधान सम्मेलनलाई नै हेरौं न ।’

नेतृ झाँक्रीले अगाडि भनिन्, ‘ओलीका ठूल्ठूला कदका ठुला पुत्ला बनाइएको छ, त्यसको मुनी मान्छेले विचार र राजनीतिको बहस गरेका छैनन् । पुत्लाको मुनी बसेर गौरव महसुस गरेका छन् ।’ पानीको बोतलदेखि लिएर सबैमा ओली ब्रान्डको रुपमा एमाले र ओलीलाई ब्रान्ड बनाउनुले एमाले पार्टीको रुपमा नभई ब्रान्डको रुपमा विकसित हुँदै गएको उनको भनाई थियो ।

इलामको माइजोगमाई गाउँ पार्टी कार्यालय उद्घाटन तथा जनसभालाई सम्बोधन गरेपछि काठमाडौँ फर्किने क्रममा नेतृ झाँक्रीले चारआलीमा आफ्ना कार्यकर्ताहरूसँग केही बेर छलफल गरेकी थिइन् ।
 छलफलमा पार्टीका प्रदेश कमिटी सदस्य लोकबन्धु कन्दङ्वा, जिल्ला कमिटी सदस्य शङ्कर थापा, युवा सङ्घ केन्द्रीय सचिवालय सदस्य विमला देवकोटा, अनुज रेग्मी, भीष्म पौडेल, कर्मचारी सङ्गठनका जिल्ला सचिव निरोज कट्टेल, विद्यार्थी नेताहरु विनम सरदार, चेतन पौडेल, हरि भट्टराई, दीपेश पाठकलगायत सहभागी थिए ।

सम्बन्धित समाचार