२०८३ बैशाख १० गते , विहीबार
प्रदेश १ प्रहरी सक्रियता : ३ महिनामा १०८९ मुद्दा दर्ता, ९ करोड भन्दा बढी राजश्व सङ्कलन
झापा । सङ्गठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरू बिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा यस आर्थिक वर्षको पहिलो त्रैमासिकमा १ हजार ८ सय ९ मुद्दा दर्ता र ९ करोड भन्दा बढी राजश्व सङ्कलन भएको छ ।
सङ्गठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउने तर्फ विशेष ध्यान दिई समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अवैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको प्रदेश प्रहरीका प्रवक्ता नविनराज राईले बताएका छन् । यस आर्थिक वर्षको गत ३ महिनामा मात्र १ हजार ८ सय ९ वटा विभिन्न अपराध सम्बन्धी मुद्दा दर्ता भई कारबाही गरिसकिएको छ भने फैसला कार्यान्वयन तर्फ विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका ८४५ जना फरार प्रतिवादी पक्राउ गरी ३८५ वर्ष कैद भुक्तान भई ,१ करोड ७४ लाख १२ हजार ७ सय २१ रुपैयाँ राजश्व सङ्कलन भएको राईले बताए ।
यसैगरी भन्सार चोरी निकासी तर्फ अवैध रुपमा समान चोरी निकासी गर्ने १८ जना मानिस पक्राउ गर्नुका साथै ३ करोड ६३ लाख ५७ हजार २५६ रुपैयाँ राजश्व सङ्कलन भएको छ । यस्तै नदीजन्य पदार्थको अवैध रुपमा दोहन गर्ने २१ जना मानिस र ४०९ वटा नदीजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै १२ लाख ५७ हजार ७५० राजश्व सङ्कलन भएको छ । यसैगरी अवैध काठ चोरी निकासी गर्ने २३ जना मानिस पक्राउ गर्नुका साथै ११०५ क्यूफिट काठ बरामद गरी २३ लाख ७२ हजार ३३५ राजश्व सङ्कलन भएको छ ।
यसैगरी ट्राफिक व्यवस्थापन तर्फ यस आर्थिक वर्षको ३ महिनामा मात्र ट्राफिक नियम उलंघन गर्ने ६२ हजार १७१ वटा सवारी साधनलाई कारबाही गर्दा ३ करोड ९८ लाख ५३ हजार राजश्व सङ्कलन भएको छ । यसैगरी लागू औषध नियन्त्रण तर्फ गाँजा १ सय ५७ किलो ३४५ ग्राम, चरेस ८ ग्राम २४० मिलिग्राम, ब्राउन सुगर ९ सय ४५ ग्राम ५१७ मिलिग्राम, विभिन्न मनोद्धिपक क्याप्सुल ६ हजार ४१७, मनोद्धिपक एम्पुल १ हजार ३०२ र मनोद्धिपक औषधीहरू २५४ क्याप्सुल नियन्त्रण गरिएको र ३०१ रोपनी क्षेत्रफलमा लगाएको ६० हजार ६३७ बोट गाँजा नष्ट गरिएको छ । यसरी यसै आर्थिक वर्षको ३ महिनामा मात्र कुल ९ करोड ७२ लाख ५३ हजार ६२ राजश्व सङ्कलन भएको हो । अघिल्लो ३ आर्थिक वर्षको तुलनात्मक तथ्याङ्क ।